पुरानो अवस्थामा अघि बढ्न खोज्यौं भने नयाँ पुस्ताले स्वीकार्दैन : मुख्यमन्त्री आचार्य

आचार्यले काम नगर्ने र फाइल थन्क्याउने प्रवृत्तिको समूल नष्ट गर्न आवश्यक रहेको बताएका छन् ।

आश्विन २, २०८२

दुर्गालाल केसी

If we try to move forward in the old situation, the new generation will not accept it: Chief Minister Acharya

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका प्रशासकहरुलाई निर्देशन दिएका छन् ।

विभिन्न मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिवहरुको उपस्थितिमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताए ।

'पुरानो अवस्थामा अघि बढ्न खोज्यौं भने नयाँ पुस्ताले त्यो कुरा स्वीकार गर्ने अवस्था छैन । सेवा प्रवाह सुधार गर्न जरुरी छ । कम्तीमा पनि सेवाहरू जनमुखी बनाएर प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ,' उनले भने, 'काम नगर्ने र फाइल थन्क्याउने प्रवृत्तिको समूल नष्ट गर्न आवश्यक छ ।' यस्तै, राजनीतिक व्यक्तिहरूले आफूलाई आमूल परिवर्तन गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याए ।

मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गतेको आन्दोलनका कारण कार्यालयहरू जलेर रोकिएको सेवा प्रवाह तत्काल सञ्चालन गर्न विषयगत मन्त्रालयहरुलाई निर्देशन दिए । आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालय र निकायमा भएको भौतिक क्षतिको जानकारी दिँदै उनले मर्मत-सम्भार गरेर कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याइने बताए ।

आगजनीमा परेका उच्च र जिल्ला अदालतलाई सहयोग

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आन्दोलनका क्रममा आगजनीमा परेका उच्च अदालत र जिल्ला अदालतको सेवा सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री आचार्यको अध्यक्षतामा बसेको बैठकले उच्च अदालतका तीन वटा कार्यालयलाई प्रति कार्यालय पाँच लाख, जिल्ला अदालतका चार वटा कार्यालयलाई प्रति कार्यालय तीन लाख र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई सेवा सुचारू गर्न तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully