तिनाउ खोलामा पानीको सतहले खतराको तह पार गर्‍यो

बुधबार बिहानैदेखि तिनाउ खोलाले खतराको तह पार गरेको महाशाखाले जनाएको छ ।

आश्विन १, २०८२

माधव अर्याल

The water level in Tinau river crossed the danger level

पाल्पा — तीन दिनयताको अविरल वर्षाका कारण पाल्पाबाट बग्ने तिनाउ खोलामा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ ।

मंगलबार रातिदेखि पाल्पा क्षेत्रमा भीषण वर्षा भइरहेकाले तिनाउ खोलामा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झुम्सा, दोभान, तिनाउ खोलाले खोलाले खतराको तह पार गरेको स्थानीय सन्तोष शेरचनले बताए । 

पाल्पा जिल्लाका सबै स्थानमा पानी परिरहेको छ । बुधबार बिहानैदेखि तिनाउ खोलाले खतराको तह पार गरेको महाशाखाले जनाएको छ । रुपन्देहीस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउ खोलामा बिहान पानीको सतह सात दशमलव ९ मिटर पुगेको छ । 

महाशाखाका अनुसार जल सतह ६ मिटरलाई सतर्कता तह मानिन्छ । ६ दशमलव १ मिटरलाई खतराको तह मानिन्छ । तिनाउ खोलाको जल सतह ७ दशमलव ९ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरचनले बताए ।

तिनाउ खोलाले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति भएको छैन । तिनाउलगायत पाल्पाका निस्दी, अरुणखोला, दोभान, झुम्सा खोलामा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित रहन स्थानीयले आग्रह गर्दै आएका छन् । 

तिनाउ गाउँपालिका २ दोभानका पूर्ववडाध्यक्ष राजेश श्रेष्ठले भिडियो सन्देशमार्फत् सतर्कता अपनाउन आग्रह गरेका छन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully