माथिल्लो भेगमा सञ्चालित चुनढुंगा खानीले सडकमा थुप्रियो गेग्रान
What you should know
पाल्पा — अविरल वर्षासँगै गेग्रान आएर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदेखोलामा माथिल्लो भेगबाट बगेर आएको गेग्रानले बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
सडक डिभिजन पाल्पाले गेग्रान हटाएर सडक एकतर्फी सञ्चालनमा आएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार राजमार्गका विभिन्न स्थानमा खसेका पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा आएको छ । दोभान प्रहरी चौकीका अनुसार सिद्धबाबा क्षेत्रमा ढुंगा खस्ने समस्या भए पनि तत्काल हटाएर सडक सञ्चालन गरिएको छ । हिउँदे खोलालगायत विभिन्न स्थानमा पहिरो खसेर बिहानैदेखि रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
हिउँदेखोलामा ५० वर्षदेखिको समस्या भए पनि समाधानका लागि ठोस पहल हुन सकेको छैन । हिउँदेखोलानजिकै घर भएका ६७ वर्षीय टेमन दर्लामीका अनुसार आफूले जान्दादेखि नै सडकमा गेग्रान आउने गरेको छ । अझ माथिल्लो भागमा चुनढुंगा उत्खनन गर्न सुरु भएपछि अझ बढी गेग्रान आउन थालेको हो ।
तिनाउ गाउँपालिका–२, डोलमा पनि माथिल्लो भागमा सञ्चालित चुनढुंगा खानीका कारण गेग्रानले हरेक वर्ष समस्या निम्तिने गरेको छ ।
बुधबार बिहानैदेखि गेग्रानका कारण कल्भर्ट भरिएपछि सडकमै खोला बगेको दोभानका राजेश श्रेष्ठले बताए । उनका अनुसार माथिल्लो भागमा सञ्चालित चुनढुंगा खानीबाट बगेर आएको गेग्रान यस स्थानका लागि समस्या बनेको छ । चुनढुंगा खानीको अटेरीका कारण हरेक वर्ष स्थानीय बासिन्दाले दुःख पाउने गरेका छन् ।
हिउँदेखोला र दोभानका चुनढुंगा खानी उत्खनन क्षेत्रमा खानी तथा भूगर्भ विभाग तथा डिभिजन वन कार्यालय पाल्पाबाट वार्षिक अनुगमन हुन्छ । तर स्थानीयको अवस्था बुझ्ने काम हुँदैन । चुनढुंगा खानीमा धेरै समस्या गग्रेटो व्यवस्थापन छ । जिल्लामा सञ्चालित सबै चुनढुंगा खानीमा उही समस्या छ । गग्रेटो वर्षायाममा बगेर तल्लो तटीय क्षेत्रमा समस्या निम्तिने गर्छ । अनुगमनका क्रममा जुनसुकै खानीमा पनि समस्या देखिएको डिभिजन वन कार्यालयको प्रतिवेदनमा छ ।
चुनढुंगा उत्खनन गर्दा तल्लो भागमा वर्षायाम र पानी पर्दा गग्रेटो बगेर जाने समस्या सबैमा रहेको कार्यालयको प्रतिवेदनमा छ । खानी उत्खनन गर्दाका न्यूनतम सर्तसमेत पालना नगर्ने डिभिजन वनको प्रतिवेदनमासमेत उल्लेख छ । खानी तथा भूगर्भ विभागले गर्ने अनुगमनमा पनि न्यूनतम सर्तसमेत पालना नगरेको उल्लेख गरेको छ ।
