प्रदर्शनकारीले जिल्लाका सरकारी कार्यालय, जनप्रतिनिधिको निजी आवास र केही व्यक्तिका सवारीसाधनमा तोडफोड र आगजनी गरेका छन् ।
What you should know
पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा २७ वटा सरकारी कार्यालयसहित ६८ वटा भवनमा तोडफोड र आगजनी भएको छ । जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले जिल्लाका सरकारी कार्यालय, जनप्रतिनिधिको निजी आवास र केही व्यक्तिका सवारीसाधनमा तोडफोड र आगजनी गरेका हुन् ।
जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीको संयोजकत्वमा क्षति मूल्यांकन समिति गठन भएको छ । संघ र प्रदेश अन्तर्गतका सरकारी कार्यालयमा भएको क्षतिको मुचुल्का तयार पारेको भए पनि स्थानीय तहको क्षतिको बारेमा जिल्लाभरिको विवरण आइनसकेको संयोजक भण्डारीले बताए ।
प्रारम्भिक अनुमानअनुसार जिल्लामा सरकारी कार्यालयको मात्र ४ करोडको हाराहारीमा क्षति पुगेको अनुमान छ । स्थानीय तहले भने अहिले क्षतिको मूल्यांकल गर्ने काम गरिहेको र सरसफाइ तथा मर्मत गरेर सेवा सञ्चालन गरिसकेको छन् । जिल्लामा रहेका प्रदेश र संघ कार्यालयले पनि आफ्नो सेवा सुरु गरेका छन् । करदाता सेवा कार्यालय भने सञ्चालनमा आउन सकेको छैन ।
जिल्लामा भएको आगजनी र तोडफोड
जिल्ला समन्वय समितिको एक वर्ष अगाडि मात्र निर्माण सम्पन्न भएर सञ्चालनमा आएको कार्यालयमा तोडफोड र आगजनीबाट सुरु भएको थियो । प्रदशर्नकारीले जिल्ला सरकारी वकिलको कार्यालय, करदाता सेवा कार्यालयको सवारी, ग्रामीण आवास कम्पनीको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।
स्थानीय तह मध्यमा सुस्ता, सरावल र पाल्हिनन्दन गाउँपालिकाको कार्यालयबाहेक रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकामा तोडफोड र आगजनी भएको छ । कार्यालयमा रहेका कागजात, कम्प्युटर, फर्निचरका सामान झिकेर आगो लगाउने र तोडफोड भएको छ ।
जनप्रतिनिधिहरूको घरमा सबैभन्दा बढी क्षति पुगेको छ । सुनवल नगरपालिका प्रमुख विमला अर्यालको घरमा तोडफोड र सामान झिकेर आगजनी भएको छ । उपप्रमुख सूर्यप्रसाद दुबेको घरमा पनि तोडफोड र आगजनी भएको छ । बर्दघाट नगरपालिका प्रमुख शम्भुप्रसाद श्रेष्ठको घरमा आगजनी तोडफोड भएको छ । श्रेष्ठले सञ्चालन गर्ने पार्टी प्यालेसमा पनि तोडफोड आगजनी भएको छ ।
बर्दघाट नगरपालिकाका निवर्तमान प्रमुख धीरज शर्माको कुमुदिनी आवासीय विद्यालय, उनको पुरानो निवासमा तोडफोड र अहिले नयाँ बनेको घरमा आगजनी हुँदा पूर्णरुपमा ध्वस्त भएको छ । बर्दघाटमा उद्योग वाणिज्य सङ्घको कार्यालयमा पनि तोडफोड भएको छ ।
पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताको घरमा तोडफोड भएको छ । यसैगरी उपाध्यक्ष सकिना फातिमा अन्सारीको घरमा तोडफोड र आगजनी भएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको पुर्ख्यौली घर र आफ्नो निजी निवासमा आगजनी र तोडफोडले ध्वस्त भएको छ ।
यसै गरेर प्रदर्शनकारीले जिल्लामा प्रतिनिधिसभा सदस्य विनोद चौधरी, सरिता खनाल, लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण कलवारको निवास, पूर्वमन्त्री हृृदयश त्रिपाठीको प्रतापपुर-६ स्थित निवास, प्रदेशसभा सदस्य वैजनाथ कलवारको कार्यालय, एमाले नेता दीपेन्द्र अधिकारी, प्रदेशसभा सदस्य विश्व प्रेम पाठक, संविधानसभा सदस्य विक्रम खनालको घरमा तोडफोड र आगजनी भएको हो ।
नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यालय परासी, नेकपा एमालेको पार्टी कार्यालय, एमाले नेता थानप्रसाद गैरे र सुनवल नगरपालिकाका कर्मचारी रेशम शर्माको घरमा पनि तोडफोड भएको छ । तोडफोड र आगजनीबाट कार्यालयको सामान नष्ट भएकाले स्थानीय तह र सरकारी कार्यालयको कामकाज सुरु हुन सकेको छैन । स्थानीय तहका जनप्रतिनिधीहरुले जनप्रनिधिको घर र कार्यालय छानीछानी तोडफोड गरिएको र यसमा जेन-जीका युवा नभएर विभिन्न राजनितिक दलका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन् ।
