बर्दिया निकुञ्जमा जीप सफारी खुल्यो

बर्दिया निकुञ्जमा जीप सफारी पुनः सुरु भएपछि पर्यटकको चहलपहल बढ्दै, पाटे बाघ लगायत वन्यजन्तु अवलोकनमा चासो।

भाद्र ३१, २०८२

कमल पन्थी

Jeep Safari opened at Bardia Park

What you should know

बर्दिया — गत साउन महिनामा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि बन्द गरिएको जीप सफारी सञ्चालनमा आएको छ । जीप सफारी सञ्चालनमा आएपछि पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ ।

जेन–जीको आन्दोलनपछि बर्दिया निकुञ्जमा जीप सफारी खुलेको हो । बर्दिया निकुञ्जका सूचना अधिकारी एंव वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जेन–जीको आन्दोलनले पर्यटक आगमन प्रभावित भएपनि अहिले दैनिक १५/२० जना विदेशी र धेरै नेपाली पर्यटकको आगमन बढेको बताए ।

वर्षात्‌को समय भएकोले पर्यटक आगमन कम भएपनि दसैंसम्म पर्यटक वृद्धि हुने विश्वास रहेको पौडेलले बताए । उनले भने,’ ‘एक महिना अघि बन्द रहेको जीप सवारी पर्यटकका लागि सञ्चालनमा ल्याएका छौं ।’

पर्यटन व्यवसायी भने पर्यटक आगमन निराशाजनक रहेको गुनासो पोख्छन् । अमेरिका लगायत मुलुकका सरकारले नेपाल भ्रमणमा रोक लगाएपछि आउन छाडेको पर्यटन व्यवसायी कृष्ण प्रसाद भटटराईले बताए । उनले वर्षातको मौसम भएका कारण पनि पर्यटक आगमन कमै रहेको जनाए । नेपाली पर्यटक भने आउने क्रम रहेको छ ।

पर्यटन व्यवसायी रामजी थापाले स्वदेशी र विदेशी पर्यटक आउने क्रम बढेको बताउँछन् । बुकिङ गरेका पर्यटक आउन थालेको उनको भनाइ छ । बर्दिया राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष ०८१/०८२ मा २८ हजार ६८ जना स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । 

आव ०८०/०८१ को तुलनामा २ हजार बढी पर्यटकले अवलोकन गरेका थिए । गत आवमा नेपाली १९ हजार १०,सार्कका १ हजार ५ सय ४० र विदेशी ७ हजार ५ सय १८ जना पर्यटक भित्रिएका बर्दिया निकुञ्जले जनाएको छ । आव ०८०/०८१ मा नेपाली १८ हजार १०, सार्कबाट १ हजार ४ सय ३७ र विदेशी ६ हजार ६ सय ८४ जना पर्यटक आएका थिए । 

विश्वमै पाटे बाघका लागि ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्जमा विगत केही वर्षयता आन्तरिक, सार्क र विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । निकुञ्जमा केही वर्ष यता पर्यटक आगमन बढ्दै गएको छ । बर्दिया निकुञ्जका अनुसार आव ०७८/०७९ मा १६ हजार २ सय ९७,आव ०७९/०८० मा २४ हजार ३ सय ९८ जना पर्यटकले अवलोकन गरेका थिए ।

निकुञ्ज प्रवेश गर्न आउने आन्तरिक पर्यटकले १ सय,सार्कका ७ सय ५० र विदेशी पर्यटकका लागि १ हजार ५ सय शुल्क लाग्ने गरेको छ । बर्दिया निकुञ्जमा आउने अधिकांश पर्यटकको ईच्छा बाघ हेर्ने भएकोले आउने गरेको वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए । ‘बर्दिया निकुञ्जमा १ सय २५ बाघ रहेका छन्,’ उनले भने, ‘बर्दिया निकुञ्जमा १ सय २० हात्ती रहेको अनुमान छ । त्यसै गरि गैंडा ३८ वटा रहेका छन् । यीमध्ये कतीपय गैंडा सिमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षमा पुगेका छन् ।’

बर्दिया निकुञ्जमा आउने पर्यटकले जीप सफारी र पैदल अवलोकन गर्ने गरेका छन् । अधिकांश पर्यटकले पाटे बाघ लगायत अन्य वन्यजन्तुको अवलोकन गरि फर्किने गरेका छन् । बर्दिया निकुञ्ज बाहिर ३० बढी साना र ठूला होटल रहेका छन् । डल्ला होम स्टे पनि पर्यटकको रोजाईमा पर्छन् । यहा झण्डै २० वटा होमस्टे रहेका छन् ।

निकुञ्ज बाहेक पर्यटकले खाता जैविक मार्गको डल्ला, पत्थरबोझी लगायतका ठाउँको अवलोकन गर्ने गरेको निकुञ्जले जनाएको छ । यस बाहेक यहाँ आउने पर्यटकले निकुञ्ज हातामा रहेको गोही, घडीयाल प्रजनन केन्द्र, थारु संग्राहलय, दृटिविहीन गैंडा र समस्याग्रस्त बाघ थुनिएको खोर बाहिरबाट अवलोकन गर्ने गरेका छन् ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully