फेसबुके राजीनामाको कुनै अर्थ हुँदैन, काममा फर्किनूस् : जिसस प्रमुख

राजीनामा दिएका कतिपय नगर प्रमुख र वडाध्यक्षले काममा फर्किन कठिनाइ महसुस गरेपछि प्रमुख आचार्यले लिखित आग्रह गर्दै काममा फर्किन भनेका हुन्।

भाद्र ३१, २०८२

मनोज पौडेल

Facebook's resignation makes no sense, let's get back to work: Jesus Chief

What you should know

कपिलवस्तु — जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले फेसबुकबाट गरेको राजीनामाको कानुनी वैधता र मान्यता नहुने हुँदा जनताको काममा फर्किन जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

जेन–जी आन्दोलनका कारण राजीनामा दिएका कतिपय नगर प्रमुख र वडाध्यक्षले काममा फर्किन अप्ठ्यारो मानेकाले समस्याको गाँठो फुकाउन प्रमुख आचार्यले लिखित निर्देशन नै जारी गरेका हुन् । 

उनले जिल्लाका सबै ६ नगरपालिका र ४ गाउँपालिकालाई पत्राचार गर्दै मुलुकमा देखिएको विषम परिस्थितिका कारण अवरुद्ध भएका स्थानीय तहका काम सुचारु गर्न निर्देशन गरेका छन् । ‘अहिले मुलुकको परिस्थिति सामान्य बन्दै गएकाले जनता र विकासका काममा  लाग्नु पर्ने अवस्था छ,’ उनले भने, ‘यसैबाट जनताको विश्वास पुनः जित्ने हो ।’ 

काममा नजाँदा अझ अन्योल र अस्थिरता थपिने, जनताका असन्तुष्टि बढ्दै जाने भएकाले पालिका र त्यसअन्तर्गतका कार्यालयसँग सम्बन्धित सेवा नियमित रूपमा संचालन गर्न निर्देशन गरिएको प्रमुख आचार्यद्वारा जारी सूचनामा उल्लेख छ । 

जिल्ला समन्वयको निर्देशनपछि पनि राजीनामा दिएका पदाधिकारीले काममा फर्किन गाह्रो मानिरहेका छन् । ‘सामाजिक सञ्जालबाटै भए पनि राजीनामा घोषणा गरियो, अब काम गर्न कसरी जाने ?’ एक जनप्रतिनिधिले भने, ‘नैतिकता भन्ने पनि ठूलो कुरा हो । त्यसमाथि अझ सुरक्षाको कुरा पनि छ । सुरक्षाको कुरा गर्दा स्थानीय प्रशासनले प्रस्ट बोलेको छैन । यिनै कारण पनि पदबहाली गर्न चुनौती थपिएको छ ।’  

जेनजीको भदौ २४ र २५ गतेको आन्दोलनका कारण बुद्धभूमि नगरपालिका र महाराजगन्ज नगरपालिकाका प्रमुख/उपप्रमुख तथा यशोधरा गाउँपालिका उपाध्यक्षले फेसबुकबाटै राजीनामा दिएको बताएका थिए । त्यस्तै बुद्धभूमि, महाराजगन्ज र कपिलवस्तु नगरपालिकाका १२ बढी वडाध्यक्षले पनि राजीनामा दिएका थिए । दुई प्रदेश सभा सदस्यले पनि राजिनामा दिएको घोषणा गरेका थिए ।

प्रदर्शनकारीको डर–धम्कीका कारण जनप्रतिनिधिले राजीनामा दिएको बताएका छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully