जेन-जी आन्दोलनका नाममा अराजकता फैलाउने व्यक्ति र समूहलाई एक साताभित्र कारबाही गर्न माग

राज्यले एक साताभित्र कारबाही नगरे जनताले नै त्यस्ता अपराधीलाई कारबाही गर्ने नेताहरुले चेतावनी दिएका छन् ।

भाद्र ३१, २०८२

नवीन पौडेल

Demand action within a week against individuals and groups spreading chaos in the name of Zen-ji movement

परासी — जेन-जी आन्दोलनका क्रममा व्यक्तिगत घर र उद्योगमा तोडफोड र आगजनी गर्नेलाई तत्काल कारबाही गर्न जनता प्रगतिशील पाटीका अध्यक्ष हृदयश त्रिपाठी, लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले प्रशासन समक्ष माग गरेका छन् ।

मंगलबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलनको नाममा व्यक्तिगत रिस र राजनीतिक प्रतिशोध राखेर घर र उद्योगमा आगजनी गरेको आरोप लगाए । 

जेनजीका नाममा घरमा लुटपाट गर्ने, उद्योगमा आगजनी र लुटपाट गर्ने गिरोहलाई तत्काल कारबाही हुनुपर्ने त्रिपाठीले बताए । मन्त्री कलवारले जेनजीका नाममा घुसपैठ गरेर लुटपाट गर्नेले जेनजी आन्दोलनलाई नै बदनाम गर्न खोजेको बताउँदै दोषीलाई कारबाहीको माग गरे । 

अध्यक्ष यादवले  आन्दोलनको नाममा लुटपाट गर्ने र तस्करीमा संलग्न गिरोहले आतंक मच्चाएको भन्दै राज्यले एक साताभित्र कारबाही नगरे जनताले त्यस्ता अपराधीलाई आफै कारबाही गर्ने चेतावनी दिए । 

आजै तीनै जना नेताले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई लिखित रूपमा अराजकता फैलाउने व्यक्ति र समूहलाई एक साताभित्र कारबाही गर्न माग गरेका छन् । प्रशासनले बेवास्ता गरेमा स्थानीय बासिन्दाले नै आगजनी र तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही गर्ने भन्दै त्यसको जिम्मेवारी प्रशासनले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।  

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully