आगजनी र लुटपाट गर्ने ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी चक्रडमर पालले पक्राउ पर्नेमा गुलरिया-४,७,१२,८ र ६ का अभियोगी रहेको बताए ।

भाद्र ३१, २०८२

कमल पन्थी

5 arrested for arson and robbery

बर्दिया — जेनजीको आन्दोलनका नाममा गुलरिया नगरपालिकाको कार्यालय र सांसद सञ्ज कुमार गौतमको घर आगजनी र लुटपाट गरेको आरोपमा मंगलबार थप एकसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाविरुद्ध प्रहरीले अदालतबाट म्याद थप गरी मुद्दा दायर गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी चक्रडमर पालले पक्राउ पर्नेमा गुलरिया-४,७,१२,८ र ६ का अभियोगी रहेको बताए । उनीहरुविरुद्ध आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुर मुद्दामा कारबाही सुरु गरिएको डीएसपी पालले भने, 'केही अभियोगी फरार भएकाले उनीहरुको व्यापक खोजी भइरहेको छ ।'

सामाजिक सञ्जालमा लुटपाट र आगजनीका तस्बिर भाइरल भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो । गुलरियाको कार्यालय,सांसद गौतमको घर, एमाले र कांग्रसका पार्टी कार्यालयमा आगजनी गर्नेको खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

शनिबार बारबर्दिया नगरपालिका–२ को वडा कार्यालय तोडफोड गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully