लुम्बिनी विकास कोष सूचना अधिकृत राजन बस्नेतका अनुसार सोमबार मात्रै २ सय ७३ जना श्रीलंकाका तीर्थालु मायादेवी मन्दिर अवलोकनका लागि आएका छन् ।
What you should know
लुम्बिनी — मानिसहरूको दैनिकी र सार्वजनिक स्थलहरू चलायमान भई जनजीवन फेरि पुरानै लयमा फर्किँदै गर्दा लुम्बिनीस्थित मायादेवी मन्दिरमा बिस्तारै चहलपहल बढ्न थालेको छ ।
शनिबारदेखि अवस्था सामान्य हुँदै गएपछि अहिले आइतबारबाट स्वदेशी विदेशी पर्यटक, तीर्थालु र उपासक उपासिका बढ्दै गएका छन् ।
शुक्रबार फाट्टफुट्ट रूपमा विदेशी पर्यटक आएका थिए । शनिबार स्वदेशी–विदेशी गरेर सय जनाभन्दा बढी पर्यटक मायादेवी मन्दिर घुम्न आएका थिए ।
'आइतबार बढेर डेढ सय जना पुगेका थिए,' लुम्बिनी विकास कोष सूचना अधिकृत राजन बस्नेतले भने, 'सोमबार मात्रै २ सय ७३ जना श्रीलंकाका तीर्थालु आएका छन् ।'
यसले अब विदेशी पर्यटक आगमनले गति समात्ने देखाएको छ । शनिबार यतामात्र दुई सय ११ जना नेपाली, दुई सय ४४ भारतीय, ३ सय ७ जना सार्क र ४८ जना तेस्रो मुलुकका पर्यटक र तीर्थालुले मायादेवी मन्दिर अवलोकन गरेका छन् ।
युवाहरूको आन्दोलन र प्रदर्शन सकिएर अन्तरिम सरकार गठन भएपछि शान्ति सुरक्षा अवस्था सुदृढ हुँदै जाँदा पर्यटक आवागमन बढेको भिक्षु सिरी बजिरले बताए । यसले राम्रो सन्देश गएको छ उनले भने अब पर्यटकीय सिजन सुरु हुँदै गर्दा धेरै पर्यटक आउनेछन् । मायादेवी मन्दिर पूजाआजा गर्न आउने नेपाली मुलुकमा शान्ति र उन्नतिको कामना गरेका थिए । विदेशीले भने शान्ति, स्थिरताको कामना गर्दै धार्मिक पुण्य सञ्चय गरेका थिए ।
शान्त वातावरणमा धुवा धुलो रहित हुँदा मायादेवी मन्दिर मनमोहक र चित्ताकर्षक देखिएको छ । शान्त वातावरण थियो चीनको बेइजिङबाट आएकी जिओ मेईले भनिन्, 'एक घण्टा ध्यान बसेर गजबको शान्तिमय ऊर्जा पाएँ ।' वर्षौँदेखिको तनाव र आक्रोश निमेषभरमै हटाउन सक्दा आनन्द र शान्तिको महसुस हुँदा खुसीको सीमा छैन् ।'
सफा मौसम र बादलको लुकामारीले मायादेवी मन्दिर निक्कै सुन्दर र अद्वितीय देखिएको छ । गत सोमबारदेखि असहज बनेको मुलुकको अवस्था शुक्रवार मध्यान्नबाट सहज बन्दै गएपछि शान्तिस्थल मायादेवी मन्दिरमा पनि पर्यटक र तीर्थालुको आगमन बिस्तारै बढ्दै गएको छ । साता दिन यात्रा गर्दै आएको थकान लुम्बिनीमा मायादेवी मन्दिरमा पूजा गरेर एक घण्टा ध्यान बस्दा हराएर जाँदा निक्कै आनन्दित बनेको भियतनामी उपासक न्गुयेन थि होआले बताइन् । 'यहाँको माटो टेक्न पाउँदा भियतनामी भाग्यमानी सम्झन्छन्', उनले भनिन्, 'मैले त एक्लै मायादेवी मन्दिरमा घण्टौँ पूजा गर्न पाउँदा भाग्यमानी भए । यसले मलाई आनन्द र सुखको अनुभूति गरेको छ । राम्रो पुण्य सञ्चय गरेँ ।'
कोलाहल नभई वातावरण सफा र मनोरम हुँदा मन्दिर पुग्ने जो कोही पनि आह्लादित बन्ने गरेका छन् । शान्त वातावरणमा रमाउन पाउँदा उपासक उपासिका, तीर्थालु र पर्यटकहरू आनन्दित र शान्ति प्रति समर्पित बन्ने गरेका छन् ।
लुम्बिनी मुलुकको सबैभन्दा धेरै पर्यटक भ्रमण गर्ने गन्तव्य हो ।
