नख्खु कारागारबाट फरार एक कैदीसहित तीन जना बर्दियाबाट पक्राउ 

भाद्र ३०, २०८२

कमल पन्थी

बर्दिया — जेन–जीको आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार एक कैदीसहित तीन जनालाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । गेरुवा गाउँपालिका–४ खोनपुरका ४२ वर्षीय हरिमान भन्ने दर्नबहादुर क्षत्रीलाई उनको घरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय भएको क्षेत्री आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए । इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी टोलीले पक्राउ गरेको छ । यसैगरी बाँके नौवस्ता कारागारबाट फरार भएका दुई कैदीबन्दीलाई आइतबार राति सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका–१ शान्तिपुर मिलनचोकस्थित सानो डाँफेबाट खटिएको बीओपीका सप्रनानी जोखबहादुर केसीको कमान्डमा ५ जना र प्रहरी चौकी जमुनीबाट प्रनानी ओमप्रकाश खत्री कमान्डमा ४ जना खटिएको टोलीले जाँच गर्दा फरार कैदी पक्राउ परेका हुन् । सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले पक्राउ परेका बाँके कोहलपुर नपा–२ विकास नगरका २८ वर्षीय ध्रुवसिंह ठकुरी र सुर्खेत वीरेन्द्रनगर नपा–४ का २१ वर्षीय रोहन बस्याल रहेको बताए । ठकुरी चोरी,डकैती र लागुऔषध सम्बन्धी मुद्दाका अभियोगी भएको,’उनले भने‘बस्याल लागुऔषध सम्बन्धी मुद्दाका अभियोगी हुन् ।'

फरार अभियोगी सीमावर्ती भारतीय नाका बलैगाउँ हुँदै भाग्ने तयारीमा थिए । अभियोगीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय,मैनापोखरलाई बुझाइएको सप्रउ शाहीले जनाए ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully