गुल्मी– गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर टिकाउन रेसुंगा नगरपालिकाले प्रदान गर्दै आएको प्रोत्साहन भत्ता ६ जना विशेषज्ञ डाक्टरलाई प्रदान गर्न थालिएको छ । यसअघि अस्पतालमा कार्यरत एक जना विशेषज्ञ डाक्टरलाई प्रदान गरिएको यो कार्यक्रम अन्तर्गत यसवर्षदेखि ६ जना विशेषज्ञ डाक्टर जोडिएका छन् ।
विशेषज्ञ डाक्टरबाट गुणस्तरीय सेवा प्रदान गर्न र सेवालाई टिकाइराख्न रेसुंगा नगरपालिकाले डाक्टरहरूलाई सरकारले प्रदान गर्ने तलब सुविधा बराबरकै प्रोत्साहन भत्ता उपलब्ध गराउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।
सोमबार ६ जनालाई प्रदान गर्ने यो सेवा कार्यक्रम रेसुंगा नगरपालिका र गुल्मी अस्पतालबीच सम्झौता भएको छ । गुल्मी अस्पतालका आन्तरिक चिकित्सा विशेषज्ञ डा. विभव बस्याल, आन्तारिक चिकित्सा विशेषज्ञ डा. सुरेन्द्र क्षेत्री, बालरोग विशेषज्ञ डा. प्रज्ञा शाक्य, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सोफिया थापा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदीप शिवाकोटी र सामान्य तथा आकस्मिक चिकित्सा विशेषज्ञ डा. अर्जुन केसीलाई नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्नेछ ।
वार्षिक ४० लाख रुपैयाँ खर्चिने नगरपालिकाको यो कार्यक्रमबाट गुल्मी अस्पतालको स्वास्थ्य सेवा थप गुणस्तरीय बनिरहेको छ । गुल्मी र छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकले सेवा लिने गुल्मी अस्पताल पछिल्लो समय विश्वासिलो अस्पताल बन्दै आएको छ ।
रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले गुल्मी अस्पतालमा पहिलोपटक ६ जना विशेष डाक्टर र मेडिकल अधिकृतसहित १८ जना डाक्टरको सुविधा पुर्याउन सफल भएको बताए । ‘सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्राथामिकतामा छ,’ उनले भने, ‘गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर टिकाउन प्रोत्साहन भत्ताको कार्यक्रम ल्याएका हौं ।’ उनले स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच वृद्धि गर्न नगरपालिका लागिरहेको बताए ।
रेसुंगा नगरपालिकाले गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर टिकाउन प्रोत्साहन भत्तासहित, मृगौला डायलाइसिस मेसिन हस्तान्तरण, हाडजोर्नी विशेषज्ञ सेवामा सहजता, नगरभित्रका दम र निमोनियाका बिरामीको घरघरमा अक्सिजन कन्स्नट्रेटर मेसिन सहयोग, मोतियाविन्दुको निःशुल्क शल्यक्रिया र ग्रामीण अल्ट्रासाउण्ड सेवा लगायतका सेवाहरू सञ्चालन गरिरहेको छ ।
