नियमित लयमा फर्कियो रुपन्देही

अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा हटेपछि जिल्लाका बजार, स्वास्थ्य तथा शैक्षिक संस्था र व्यापारिक प्रतिष्ठान खुलेका छन् ।

भाद्र २९, २०८२

दीपेन्द्र बडुवाल

भैरहवा — जेन-जी आन्दोलनका क्रममा भएको प्रदर्शन, तोडफोड र आगजनीपछि सुनसान बनेको रुपन्देहीमा आइतबार बिहानैबाट चहलपहल सुरु भएको छ ।

शनिबार राति जिल्ला प्रशासनले अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा हटाएपछि बिहान जिल्लाका बजार, स्वास्थ्य तथा शैक्षिक संस्था र व्यापारिक प्रतिष्ठान खुलेका छन् । बिहानैदेखि जिल्लाका प्रमुख र भित्री सडकमा ठूला र हलुका सवारी साधनको बाक्लो ओहोरदोहोर देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले सूचना जारी गरेर जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले निषेधाज्ञा र कर्फ्यु आदेश हटाइएको जनाएका छन् । शनिबार दिउँसो निषेधाज्ञा जारी रहेका कारण मुख्य बजार क्षेत्र खुलेका थिएनन् । सहरका भित्री र ग्रामीण क्षेत्रका अत्यावश्यक सामग्रीका पसल र हाट बजार मात्र सञ्चालनमा थिए । प्रशासनले नै शान्ति व्यवस्था कायम रहेको सूचना जारी गरेर जनजीवन सामान्य बनाउन आह्वान गरेपछि स्थानीयले निर्धक्क आफ्ना पसल र प्रतिष्ठान सञ्चालन गरेका हुन् । 

एक सातादेखि बन्द जिल्लाभरका विद्यालय पनि आइतबारबाट सञ्चालनमा आएका छन् । शनिबार साँझ प्याब्सन जिल्ला अध्यक्ष दीपक खनाल, नेसनल प्याब्सन अध्यक्ष बाबुराम बञ्जाडे र हिसान रुपन्देहीका अध्यक्ष कृष्णबहादुर न्यौपानेले प्रेस विज्ञप्ति जारी गरेर विद्यालय सञ्चालनमा ल्याउन आह्वान  गरेका थिए । मुलुकमा सिर्जित असामान्य परिस्थितिपश्चात् शैक्षिक क्षेत्र प्रभावित भएकाले अभिभावक, विद्यार्थी, शैक्षिक समुदायको चासो र भविष्यलाई ध्यानमा राख्दै आइतबारदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जनाएका छन् । 

तोडफोड र आगजनीका कारण क्षति पुगेको भैरहवा भन्सारले दुई दिनअघि अत्यावश्यक वस्तुको जाँचपास सुरु गरिसकेको छ । कम्प्युटर, दस्ताबेज, फर्निचर लगायत महत्वपूर्ण सामग्री जलेका कारण अस्थायी रुपमा सेवा सञ्चालनमा ल्याएको भन्सार प्रमुख शिवलाल न्यौपानेले बताए । त्यस्तै जिल्ला अदलातले पनि आइतबारबाट आंशिक रुपमा सेवा सुरुवात गरेको जनाएको छ । जिल्ला अदालतले आइतबार बिहान सूचना प्रकाशित गरेर संकुचित रुपमा सेवा सञ्चालनमा ल्याउनुपर्ने भएकाले हाललाई म्याद थप, जरुरी पक्राउ पुर्जीको स्वीकृति , पक्राउ पुर्जीको अनुमति, बन्दी प्रत्यक्षीकरणको निवेदन र थुनछेकसम्बन्धी सेवा मात्र उपलब्ध गराइने जनाएको छ । 

 

दीपेन्द्र बडुवाल

Link copied successfully