जेनजी आन्दोलन : तोडफोड र आगजनीमा संलग्नको खोजी गर्दै प्रहरी

भाद्र २८, २०८२

वीरेन्द्र केसी

अर्घाखाँची — जेनजी आन्दोलनका क्रममा सन्धिखर्कमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घर, दलका कार्यालय र सरकारी कार्यालयमा आगजनी, तोडफोड गर्ने व्यक्तिहरु प्रहरीले खोजीकार्य सुरु गरेको छ । 

आन्दोलनकारीको समूहले सन्धिखर्क हटारीमा रहेको अढाई तले आचार्यको घरमा तोडफोडपछि आगजनी गरेका थिए । घरमा रहेका सबै सामान जलेर नष्ट भएका छन् ।

मंगलबार आन्दोलनमा संलग्नमध्येका केही समूहले एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राजमो, राप्रपा र नेकपा एसको पार्टी कार्यालयमा तोडफोड गरी कार्यालयभित्रका सबै कागजपत्र, सरसामान बाहिर ल्याएर जलाएका थिए । पार्टी कार्यालयका झन्डा र बोर्ड पनि जलाएका थिए ।

त्यस्तै जिल्ला समन्यव समितिको कार्यालय, सन्धिखर्क नगरपालिकाको कार्यालय र वडा नम्बर १ र २ को कार्यालयमा पनि तोडफोड भएको छ । केही सरकारी गाडीको तोडफोड र सिसा फुटाएका छन् ।

अर्घाखाँची प्रहरीले सूचना जारी गर्दै सन्धिखर्कमा विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, तोडफोड र सर्वसाधारणमा त्रास सृजना हुने किसिमका घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिंक पठाइदिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले घटनाको मुचुल्का संकलन र अनुसन्धानको काम भैरहेको बताए । सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी गर्ने व्यक्ति र त्यसको नेतृत्व गर्नेको खोजी, पहिचान गर्ने काम सुरु गरिएको उनले बताए । त्यस्ता व्यक्तिलाई कानुनअनुसार कारबाही गरिने उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले आन्दोलनकारीले उग्ररुपमा तोडफोड गरेपछि मंगलबारदेखि शनिबार बिहानसम्म कर्फ्यु लगाएको थियो । शुक्रबार सरकारको नेतृत्व चयन भएपछि शनिबार बिहानसम्म कायम कर्फ्यु प्रशासनले हटाए पनि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले सरकारले नयाँ नेतृत्व पाएसँगै अवस्था सामान्य बन्दै गएकाले कर्फ्यु हटाइएको बताए । आन्दोलनका क्रममा सरकारी, निजी र पार्टी कार्यालयमा आगजनी, तोडफोड लगायतका गतिविधि गर्ने जोकोहीलाई पनि पहिचान गरेर कानुनी कारबाहीको लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully