विभिन्न कारागारबाट भागेका १७ कैदीबन्दी कपिलवस्तुमा समातिए 

भाद्र २८, २०८२

मनोज पौडेल

कपिलवस्तु– मुलुकका विभिन्न कारागारबाट भागेका १७ कैदीबन्दी कपिलवस्तुमा समातिएका छन् ।

जेन–जीको प्रदर्शनका क्रममा भदौ २४ र २५ गते भागेकामध्ये केन्द्रीय कारागार सुन्धाराबाट भागेका ८ जना, नक्खु कारागारबाट भागेका ५, तुल्सीपुर कारगारबाट भागेका ३ र कास्की कारागार बाट भागेका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

पक्राउ परेका सबैलाई सदरमुकाम तौलिहवास्थित कपिलवस्तु कारागारमा राखिएको छ । जिल्लामा सुरक्षा सतर्कता अपनाई चेकजाँच तीव्र बनाएपछि भागेकालाई पक्राउ गरिएको थियो । 

त्यस्तै २५ गते बिहान कपिलवस्तु कारागार आगजनी र तोडफोड गरि भागेका एक सय १४ कैदीबन्दी पक्राउ परेका छन् । कारागार आगजनी हुँदा २९ कैदीबन्दी भागेका थिएनन् ।

नभागेका २९ र भागेपछि पक्राउ परेका एक सय १४ गरि एकसय ४३ जना कैदीबन्दी कपिलवस्तु कारागारमा छन् । कपिलवस्तु कारगारबाट भागेका ३ सय १६ जना अझ पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

मनोज पौडेल

Link copied successfully