दाङ– दाङमा आज बेलुका ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले शुक्रबार सूचना जारी गर्दै कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएका छन् ।
विभिन्न ठाउँमा भएका प्रदर्शन हिंसात्मक भई सार्वजनिक सम्पत्ति, सरकारी कार्यालय र व्यक्तिका सम्पत्ति तोडफोड र आगजनी भएको र फेरि त्यस्ता घटना हुनसक्ने सम्भावना भएकाले कर्फ्यु आदेश जारी भएको उनले बताए ।
राप्ती गाउँपालिकास्थित प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्र र भालुबाङ बजार क्षेत्रभित्र पश्चिममा–गोपीनाला, पूर्वमा भालुबाङ पुलमा कर्फ्यु लगाइएको छ ।
यसैगरी घोराही उपमहानगरपालिका क्षेत्र भित्र पश्चिममा झिगौंरा चोक, दक्षिणमा प्रहरी बोर्डिङ स्कुलदेखि गोरखा बोर्डिङ स्कूल नजिकको कटुवा खोला पुल, पूर्वमा मितेरी हस्पिटलदेखि रझेना स्कूलसम्म र उत्तरमा फुर्सेखाली, ढोरेनी स्कूलदेखि सेवार खोला पुलसम्म लगाइएको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र पूर्व–हात्तीखौवा, पश्चिम– कृष्ण मन्दिर उत्तर आँखा अस्पताल र दक्षिण एयरपोर्ट तथा लमही नगरपालिका क्षेत्रभित्र पूर्वमा अर्नवा, पश्चिममा अर्जुन खोला पुल र दक्षिणमा कोलही पुलसम्म कर्फ्यु लगाइएको अर्यालले जानकारी दिए ।
जेन्जी आन्दोलनका क्रममा दाङमा मंगलबार ४८ सरकारी कार्यालयका साथै पार्टी कार्यालय, सार्वजनिक भवन र व्यक्तिका घरसहित ७४ भवन जलेका छन् ।
