ठाकुरबाबा नगरपालिकाका तीन वडाका करिब एक सय घर डुबानमा

भाद्र २७, २०८२

कमल पन्थी

बर्दिया — बिहीबार मुसलधार वर्षापछि बाढीले ठाकुरबाबा नगरपालिका–६,७ र ८वडाका एक सय बढी घर डुबानमा परेको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट बग्ने खहरे खोलाबाट आएको बाढीले घरहरू डुबानमा परेको छ ।

साँझ ६ बजेदेखि घरमा पसेको बाढी प्रभावितको खाद्यान्न लगायत कच्ची घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । नगरपालिकाका प्रमुख तिलक लम्सालले बाढीबाट डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधिले उद्दार गरी सुरक्षित स्थलमा लगेर राखिएको बताए।



राति अबेरसम्म बाढी प्रभावितलाई उद्दार गर्न सुरक्षाकर्मी लगायत जनप्रतिनिधि खटिएका थिए । सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले उद्दार कार्यमा परिचालनका लागि थप जनशक्ति पठाएको जनाए । उद्दार गरिएकालाई विद्यालय लगायत सुरक्षित स्थानमा राखिएको नगर प्रमुख लम्सालले जनाए । शुक्रबार बिहानपनि वर्षा भइरहेको छ ।



यसै गरी मधुवन नगरपालिका–१ का केही गाउँ डुबानमा परेको छ । बाढीले यस क्षेत्रमा क्षती हुने भएकाले विद्युत आपुर्ति रोकिएको नेपाल विद्युत प्राधिकरण गुलरिया शाखाले जनाएको छ ।  

 


कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully