बर्दिया — मुसलधार वर्षापछि बाढीले ठाकुरबाबा नगरपालिका–६ र ७ वडाका एक सयभन्दा बढी घर डुबानमा परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जबाट बग्ने खहरे खोलाबाट आएको बाढीले घरहरू डुबानमा परेका हुन् ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्सालले बाढीबाट डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधिले उद्धार गरी रहेको बताए । दिउँसो परेको मुसलधार वर्षातले बाढी आएको उनले बताए । राति परेकोले उद्धार कार्यमा समस्या भएको छ । सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले उद्धार कार्यमा थप जनशक्ति पठाएको जनाए । उद्धार गरिएकालाई विद्यालय लगायत सुरक्षित स्थानमा राखिने काम भइरहेको नगर प्रमुख लम्सालले जनाए ।
