नियन्त्रणमा लिइएकामध्ये एक जनाले इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका हुन् ।
नेपालगन्ज — बाँकेको नौबस्ता कारागारबाट दुई दिनअघि मात्रै फरार भएका १४९ मा ७ कैदीबन्दीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको छ ।
उनीहरूमध्ये एक जनाले इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका छन् भने अन्य ६ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए ।
'प्रहरी कार्यालयमा रहेकालाई कारागारमा ल्याउने तयारी भएको छ,'उनले भने,'अरू फरार भएका कैदीबन्दीको खोजी भइरहेको छ ।'
कारागारमा ५८५ कैदीबन्दी थिए ।
दुई दिनअघि नौबस्तास्थित बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्युसमेत भएको थियो । उक्त घटनामा अन्य दुई जना घाइते भएका थिए । उनीहरूको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ । नौबस्ता बालसुधार गृहबाट भागेका ८९ जनामा ५ जना नियन्त्रणमा आएको बालसुधार गृह प्रशासनले जनाएको छ ।
जिल्लाको नौबस्ता बालसुधार गृहबाट ८९ र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट १२२ बालबन्दी भागेका थिए । जयन्दु बालसुधार गृहमा २२८ जना बालबन्दी थिए ।
