धमाधम पार्टी छोड्दै कांग्रेस–एमालेका विद्यार्थी नेताहरु

एमाले र कांग्रेसका प्रभावशाली विद्यार्थी नेताहरुले सामाजिक सञ्जालमामार्फत् दल छोड्ने घोषणा गरेका छन्।

भाद्र २४, २०८२

नारायण शर्मा

Student leaders of Congress-UML are leaving the party in a hurry

नवलपरासी — जेन–जी आन्दोलनलाई नैतिक सर्मथन गरेका जिल्लाका कांग्रेस–एमालेका प्रभावशाली युवा नेताहरुले धमाधम पार्टी परित्याग गरेका छन् ।

एमाले निकट अनेरास्ववियूकी केन्द्रीय सदस्य एवं चर्चित विद्यार्थी नेता एमकला पौडेल मनिषा, कांग्रेस महाधिवेशन प्रतिनिधि सुरज गुरु‍ङ, नेविसंघ केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख विजय महतो र नेविसंघका जिल्ला सदस्य सुदीप चापागाईंले पार्टी छोडेको घोषणा गरेका हुन् ।

नेपालको कमचारी संयन्त्र र माथिल्लो तहका सबै दलका नेताहरुमा समान पहुँचको छवि बनाएका गुरुङ कांग्रेसका प्रभावशाली युवा नेता मानिन्छन् । उनले सोमबार एक स्टाटस लेखेर कांग्रेस छोडेको घोषणा गरेका हुन् । 

अन्य विद्यार्थी नेताहरुले पनि सामाजिक सञ्जालमार्फत् पार्टी छाडेको घोषणा गरिरहेका छन् । कावासोतीस्थित कुमारवर्ती बहुमुखि क्याम्पस स्ववियूका पूर्व सभापति सुदीप चापागाईं र नेविसंघका केन्द्रीय सदस्य विजय महतोले नेविसंघ छोडेको घोषणा गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत नेविसंघ र कांग्रेसका कारण देश संकटमा पुगेको स्थिति आफ्नै अगाडि देख्दादेख्दै त्यस्तो संस्थामा बस्न नसकिने भनेर संगठन र पार्टी छाडेको घोषणा गरेका हुन् । 

कांग्रेसका बृद्ध नेताहरुको पाप आफूहरुले बोक्न नसक्ने भन्दै फेसबुकमा असुन्तुष्टि पोखेका छन् । अनेरास्ववियुकी केन्द्री सदस्य पौडेलले लामो स्टाटस लेख्दै अनेरास्ववियुको केन्द्रीय सदस्यबाट राजीनामा दिएकी छन् ।

उनले ओली नेतृत्वको एमालेको साधारण सदस्यसमेत नरहेको मंगलबार घोषणा गरेकी छन् । उनीहरु तीनै जना सोमबार सुरु भएको जेन–जी आन्दोलनलाई नैतिक समर्थन गरेका नेताहरु हुन् ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully