पश्चिम नवलपरासीमा निषेधाज्ञा जारी

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको आदेशमा ५ जना भन्दा बढी ब्यक्ति जम्मा हुन नपाउने, अनसन, धर्ना, घेराउ गर्न नपाइने उल्लेख छ ।

भाद्र २४, २०८२

नवीन पौडेल

Prohibition issued in West Nawalparasi

परासी — पश्चिम नवलपरासीमा निषेधाज्ञा जारी भएको छ । असोज २४ गते आज तीन बजेबाट अर्को आदेश जारी नहँदासम्म निषेधाज्ञा जारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको आदेशमा ५ जना भन्दा बढी ब्यक्ति जम्मा हुन नपाउने, अनसन, धर्ना, घेराउ गर्न नपाइने उल्लेख छ । आदेशको कार्यान्वयन नगरेमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ ।

पश्चिम नवलपरासीमा प्रदर्शनकारी युवा र विद्यार्थीले  जिल्ला समन्वय समितिको कार्यालयमा आगजनी गरेका छन् । विरोध प्रदर्शन गर्दै कार्यालय अगाडि  पुगेका प्रदर्शनकारीले आगजनी  र तोडफोड गरेका छन् । 

यसै गरेर जिल्लामा नेपाली कांगेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड भएको छ । आज बिहानैबाट सदरमुकाम परासी, सुनवल, भुमहि, बर्दघाटमा युवाहरूले प्रदर्शन गर्दै स्थानीय तहको कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको गेटमा पनि तोडफोड भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने लगायतका सरकार विरोधी नारा लगाउँदै प्रदर्शन भैरहेको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully