पार्टी कार्यालयमा तालाबन्दी गर्दै युवा नेताहरूले पारदर्शी सदस्यता वितरण र निष्पक्षता सुनिश्चित गर्न रिले अनशन थालेका हुन्।
What you should know
कपिलवस्तु — नेपाली कांग्रेस जिल्ला समितिले विधानविपरीत गलत काम–कारबाही गरेको आरोप लगाउँदै त्यसलाई सच्चाउनुपर्ने माग राखी जिल्लामा रिले अनशन थालिएको छ । कांग्रेसका युवा नेता–कार्यकर्ताले पार्टी कार्यालयमा आइतबार राति ८ बजेबाट पार्टी सुदुढीकरणका लागि भन्दै अनिश्चितकालीन रिले अनशन सुरु गरेका हुन् ।
चार–चार जनाको समूहमा आठ/आठ घण्टाको अन्तरालमा रिले अनशन थालिएको छ । पार्टीलाई विधि र थितिमा चलाउन भन्दै कांग्रेसका युवा नेता–कार्यकर्ताले दिनेश हमालको संयोजकत्वमा २२ सदस्यीय युवा संघर्ष समिति गठन गरी शान्तिपूर्ण विरोधका कार्यक्रम थालेको बताए । अनशन बस्नुअघि उनीहरूले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
मनोमानी तरिकाले बनाइएका जिल्लाका कपिलवस्तु, बुद्धभूमि, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका विभिन्न वडामा रिक्त बुथ इकाइ सभापति र विजयनगर गाउँपालिकामा रिक्त गाउँपालिका इकाइ सभापति
हटाउनुपर्ने, नयाँ क्रियाशील सदस्यता निष्पक्ष र पारदर्शी ढंले बाँड्नु पर्ने र पूर्वाग्राही भएर क्रियाशील सदस्यबाट वञ्चित गराइएकालाई क्रियाशील सदस्यता दिनुपर्ने माग उनीहरूले राखेका छन् । त्यस्तै कांग्रेस लुम्बिनी प्रदेश सदस्यबाट हठात् हटाइएका विक्रमसिंह थापालाई हटाउनुको कारण दिनुपर्ने, पार्टी शुद्धीकरणका लागि आन्दोलित बनेका नेता–कार्यकर्तामाथि कारवाही गर्ने धम्की दिन बन्द गर्नुपर्ने र राजनीतिक नियुक्तिको सिफारिस गर्दा फरक विचार समूहको सहमति सुनिश्चितता गर्नुपर्ने माग राखेका छन् ।
वर्तमान पार्टी नेतृत्वले गुटबन्दी गरेर फरक विचार राख्नेलाई हतोत्साहित गर्ने, कारबाहीको डण्डा चलाउने डर र त्रासले नेता–कार्यकर्ता पलायन भएर पार्टी कमजोर भइरहेकाले पार्टीको साख जोगाउन बाध्य भएर विरोधमा उत्रिनु परेको कांग्रेस नेता विक्रमसिंह थापाले बताए । माग पूरा नभएसम्म रिले अनशन जारी रहने संघर्ष समितिका सचिव परमेश्वर पाठकले बताए ।
आफ्ना असहमति राख्ने ठाउँ हुँदाहुँदै एक्कासि आएर पार्टी कार्यालयमा तोडफोड र अराजकता मच्याउनु घोर निन्दनीय र अशोभनीय काम भएको कांग्रेस जिल्ला पार्टी सभापति अब्दुल कलामले बताए । ‘पार्टी पद्धति र विधिविधान नमान्नेहरू कसरी प्रजातान्त्रिक आचरणका व्यक्ति हुन सक्छन् ?’ उनले भने, ‘यस्ता व्यक्तिलाई कारबाहीको प्रक्रियामा नल्याए थप अराजकता निम्तिन्छ । तसर्थ, यिनीहरूलाई तुरुन्त अनुशासनको कारबाही गर्नुपर्छ ।’
