जिल्लामा व्यावसायिक केरा खेती फस्टाउँदै गएको केरा व्यवसाय संघ बर्दियाका अध्यक्ष विकले बताए ।
What you should know
बर्दिया — भारतबाट हुने केराको आयात पूर्ण रुपमा बन्द गर्न माग गर्दै केरा व्यवसाय संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ६ बुँदे मागसहित संघका अध्यक्ष टोपलाल विकसहित केरा व्यवसायीहरुले प्रजिअ सुरेन्द्र पौडललाई ज्ञापनपत्र बुझाएका छन् ।
जिल्लामा व्यावसायिक केरा खेती फस्टाउँदै गएको केरा व्यवसाय संघ बर्दियाका अध्यक्ष विकले बताए । ‘विगत १४ वर्षदेखि व्यावसायिक केरा खेतीको क्षेत्र विस्तार हुँदै हाल ५ सय हेक्टर पुगेको छ,’ अध्यक्ष विकले भने, ‘जिल्लामा वार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ र ७ सय घरपरिवार केरा खेतीमा संलग्न रहेका छन् ।’
‘मलको अभाव, महँगो श्रम र ढुवानी भाडाले गर्दा केरा महँगोमा उत्पादन हुन्छ । तर, भारतबाट आउने सस्तो केरासँग हामी नेपाली केरा व्यवसायीले प्रतिस्पर्धा गर्न सम्भव छैन । जसले गर्दा भारतबाट आयात हुने केरामा रोग लगाउनुपर्ने ६ बुँदे मागसहित प्रशासन आएका छौं,’ उनले भने ।
केरा व्यवसाय संघका अनुसार गुलरियामा ८०, राजापुर नगरपालिकामा १५ प्रतिशत र अन्य पालिकामा ५ प्रतिशत व्यावसायिक केरा खेती भइरहेको छ । केरा खेतीको विस्तारसँग उत्पादन बढे पनि बजारीकरणको व्यवस्थापन नहुँदा र भारतबाट सस्तोमा केरा आयत हुँदा केरा बिक्रीमा कठिनाई भोग्नु परेको केरा किसानहरुले गुनासो गर्छन् ।
भारतबाट आयात हुने केरा कम्तीमा मंसिरसम्म पूर्ण बन्द गर्न, प्लान्ट क्वारेन्टाइन तथा भन्सार नीतिमा कडाइ गर्न, नेपाली केरा उत्पादक कृषकहरुको संरक्षण गर्नलगायतका ६ बुँदे माग बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
