भत्तामा परिचयपत्र अनिवार्य भएपछि अशक्तलाई सास्ती

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि गुल्मीमा जेष्ठ नागरिकलाई सास्ती भएको छ।

भाद्र २१, २०८२

सन्तोष महतारा

Disability sufferers as identity card becomes mandatory for allowance

गुल्मी — गाडी चढ्न र ओर्लन मात्रै होइन, यताउता हिड्न पनि अर्कैको सहारा चाहिन्छ । दायाँ खुट्टा नचलेपछि बैशाखीको भरमा अडिनुपर्छ । होइन, भने भुँइमै भएपनि बस्नुपर्ने बाध्यता छ । उमेरले ७४ वर्ष पुगेका इस्मा गाउँपालिका–२ का टीकाबहादुर रायमाझी बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालयको गेटअगाडि सवारी पर्खिरहेका थिए । 

सरकारले सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि रायमाझी कार्यालय आएका थिए । ज्येष्ठ नागरिक, त्यसैमाथि अपाङ्गता भएका व्यक्ति भएपछि उनी सेवा त समयमै पाए । तर पनि बुढेशकालमा परिचयपत्र अनिवार्य गरेपछि उनले सास्ती खेप्नुपरेको छ ।

‘यो कार्ड नबनाएपछि भत्ता मिल्दैन् भन्छन्,’ उनले भने, ‘दुःख भएपनि कार्ड बनाउनै पर्‍यो, बुढेशकालमा झन्झट बेहोनुपर्‍यो ।’ उनी इस्माका अघिल्लो वर्षको बैशाखमा भएको आगलागी पीडित समेत हुन् । 

सोही ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन आएकी ७७ वर्षीया तारादेवी नेपाली पनि टीकाबहादुरकै जस्तो समस्याबाट ग्रसित छिन् । उनी पनि गाडाी चढ्न र ओर्लन अनि यताउता हिड्न पनि अर्कैको सहारा लिनुपर्छ । ‘भत्ताका लागि परिचयपत्र अनिवार्य भएछ,’ उनले भनिन्, ‘अहिलेसम्म सजिलै थियो, बीचमा आएर अनिवार्य गर्दा अप्ठ्यारो भयो ।’ प्रशासनमा काम भएको कार्यालय अगाडि गाडी पर्खैको उनले बताइन् । 

मलिका गाउँपालिका–७ बाट परिचयपत्र बनाउन आएकी ६८ वर्षीया फुर्सी बिकले नयाँ बनाएको परिचयपत्र बिग्रेपछि समस्या भएको गुनासो गरिन् । ‘गाउँमा शिविर जाँदा परिचयपत्र बनाएकी हुँ,’ उनले भनिन्, ‘चाहिने बेलामा नामोनिसाना भेटिएन, फेरि आएर बनाउनुपर्‍यो ।’ उनले एउटै कार्डका लागि दुई पटक दुःख पाउनुपरेको बताइन् । 

उनीहरू मात्रै होइन, अहिले सरकारले सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा परिचयपत्र बनाउने र कार्ड लैजानेको भीड लागेको छ । जसमा एकदमै वृद्धवृद्धा समेत रहेका छन् । ज्येष्ठ नागरिकलाई प्राथामिकताका साथ सेवा दिएपनि उनीहरूले आउजाउमा सास्ती खेप्नुपरेको छ । कतिपय ज्येष्ठ नागरिकलाई साथमा लिएर आउने आफन्त नहुँदा उनीहरूले थप दुःख पाइरहेको दृश्य समेत देखिएको थियो । 

Disability sufferers as identity card becomes mandatory for allowanceपरिचयपत्र बनेपछि जिल्ला प्रशासन कार्यालय अगाडि गाडी कुरिरहेका टीकाबहादुर रायमाझी र तारादेवी नेपाली । 

इस्मा गाउँपालिकाका कार्यपालिका सदस्य डोलबहादुर नेपालीले गाउँमा रहेका सहयोग चाहिने ज्येष्ठ नागरिकलाई आफूले सहजीकरण गरेर सहयोग गरेको बताए । ‘अशक्त बुबाआमालाई आउजाउमा सहयोग गरिरहेको छु,’ उनले भने, ‘यही महिनामा मात्रै चार पटक ज्येष्ठ नागरिकलाई लिएर आएँ ।’ उनले निस्वार्थ सेवा रहेको बताए । 

हाल गुल्मी जिल्लामा वडा भएको शिविरबाट दर्ता भएका १ लाख १९ हजार परिचयपत्र मध्ये ६० हजार १ सय ६८ वटा वितरण भइसकेको जिल्ला प्रशासन कर्यालय गुल्मीका कम्प्यूटर अपरेटर तारा भण्डारी बोहराले जानकारी दिइन् । साथै जिल्ला प्रशासन कार्यालयबाटै दर्ता भएका मध्ये ५० हजार २ सय परिचयपत्र आएका मध्ये २३ हजार परिचयपत्र वितरण भएको उनले बताइन् । गुल्मीमा अहिले दैनिक औसतमा नयाँ राष्ट्रिय परिचयपत्र बनाउनेको संख्यामा १ सय २० र वितरण संख्या १ सय वटा रहेका छन् । 

गुल्मीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले जनशक्ति बढाएर सहज सेवा प्रदान गरिरहेको बताए । ‘अब चाडपर्वमा झन् सेवाग्राही बढ्छन्, सकेसम्म सहज बनाउने प्रयास गरेका छौं,’ उनले भने, ‘स्थानीय पालिकाबाट घुम्ती शिविर गरेर वितरण थालेका छौं ।’ जून बुधबारदेखि मदाने गाउँपालिकाबाट सुरु भएको छ ।

सन्तोष

Link copied successfully