नगर प्रमुखको निधनमा शोकसभा

जिल्लाका पालिका साथै विदेशी नगर प्रमुखद्वारा पनि शोक सन्देश व्यक्त ।

भाद्र २०, २०८२

मनोज पौडेल

Condolences on the death of the mayor

लुम्बिनी — समाज सेवामा समर्पित भई गरिब विपन्नजनको सेवामा अहोरात्र काम गर्ने एक समाजसेवी र नगर प्रमुख गुमाउँदा नगरले ठूलो क्षति ब्यहोर्नु परेको समाजका अगुवाहरूले बताएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाद्वारा स्वर्गीय नगर प्रमुख सजरुद्दिन मुसलमानको स्मृतिमा बिहीबार आयोजित श्रद्धान्जली सभामा बोल्ने अधिकांश वक्ताले जिल्लाले एक असल अभिभावकका साथसाथै असल समाजसेवी अगुवा गुमाएको बताएका हुन् ।

कार्यक्रममा रूपन्देही–४ का प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्ला, लुम्बिनी प्रदेश खेलकुद मन्त्री सन्तोष पाण्डेय, लुम्बिनी प्रदेश सभा सदस्य सीके गुप्ता, सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक खाँ, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली र लेटाङ नगरपालिका, मोरङका  प्रमुख भूपेन्द्र लावती लगायतले स्वर्गीय नगर प्रमुखको योगदानको चर्चा गरेका थिए । 

कांग्रेसबाट लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा निर्वाचित ७२ वर्षीय मुसलमानको गत भदौ १४ मा हृदयाघातका कारण निधन भएको थियो । 

नगर प्रमुख मुसलमानको निधनमा दुन्हाग नगरपालिका, चीन, लेसान सिटी चीन, कासेरे सिटी स्पेन र ईयुलेस सिटी टेक्सास अमेरिकाले पनि शोक सन्देश पठाएका थिए । 

मनोज पौडेल

Link copied successfully