रुपन्देहीको बेलहियास्थित एकीकृत जाँच बिन्दु असोजबाट सञ्चालनमा आउने

जिल्ला प्रशासनको निर्णय अनुसार असोज १ देखि एकीकृत जाँच बिन्दुबाट पुनः सेवा सञ्चालनमा आउने भएको छ।

भाद्र १९, २०८२

दीपेन्द बडुवाल

The integrated check point at Belhia in Rupandehi will be operational from October

What you should know

भैरहवा — भारतलगायत मुलुकबाट भित्रिने पर्यटकका लागि आवश्यक सुरक्षा जाँचलगायत सुविधा एउटै बिन्दुबाट प्रदान गर्न रुपन्देहीको सिद्धार्थनगर–१ स्थित बेलहिया नाकामा स्थापना गरिएको एकीकृत जाँच बिन्दु (आइसीपी) असोजबाट सञ्चालनमा आउने भएको छ ।

भारतलगायत तेस्रो मुलुकबाट आउने पर्यटकको सहजताका लागि डेढ वर्षअघि उक्त बिन्दु सञ्चालनमा ल्याइएको थियो । सुरक्षा लगायत जाँचका नाममा विदेशी पर्यटकले भोग्नुपरेको हैरानी कम गर्न भन्सार बिन्दुमा यस्तो सेवा सुरु गरिएको थियो । तत्कालीन गृहसचिव एकनारायण अर्यालले यसको उद्घाटन गरेका थिए । उक्त बिन्दुमा सुरक्षा लगायत जाँच पूरा गरेपछि पर्यटक सवार गाडीलाई स्टिकर दिने गरिएको थियो । उक्त स्टिकर हेरेपछि जिल्लाका अन्य ठाउँमा सुरक्षा जाँच गरिँदैनथ्यो ।

जिल्ला प्रशासनमा मंगलबार बसेको सर्वपक्षीय बैठकले असोज १ गतेदेखि पुनः एकीकृत जाँच बिन्दुबाट सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) टोकराज पाण्डेले एकीकृत जाँच बिन्दु सञ्चालनमा देखा परेका चुनौती र समस्याबारे छलफलपछि चेकजाँच बिन्दुलाई व्यवस्थित तुल्याएर पर्यटकको सहजताका लागि सेवालाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिए । यसको कार्यान्वयनका लागि सरकारी निकाय र पालिकाबीच कार्यविभाजन समेत गरिएको छ ।

प्रजिअ पाण्डेका अनुसार लुम्बिनी प्रदेशस्थित उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उक्त बिन्दुका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, आवश्यक निकायसँग समन्वय र स्टिकर उपलब्ध गराउने र आवश्यक साधनस्रोतको व्यवस्था गर्ने सहमति भएको छ । जिल्ला प्रशासनले सुरक्षा, प्रभावकारी व्यवस्थापन र समन्वयका साथै नियमित अनुगमन, मूल्याङ्कन र समन्वय गर्ने जनाएको छ ।

सिद्धार्थनगर नगरपालिकाले चेकजाँच कक्षका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, खानेपानी र सरसफाइको उचित प्रबन्ध गर्ने, सीमा क्षेत्रमा सौन्दर्यकरण गर्ने र आवश्यकता अनुसार साधनस्रोत उपलब्ध गराउने सहमति जनाएको छ । जिल्लास्थित सुरक्षा निकायले जाँच गरेपछि स्टिकर जारी गर्ने, जाँचका लागि आवश्यक जनशक्ति उपलब्ध गराउने र अन्तरनिकाय समन्वय गर्ने जिम्मेवारी लिएका छन् । भैरहवा भन्सार कार्यालयले परिसरको सौन्दर्यकरण गर्ने, सेवाग्राहीमैत्री संरचना निर्माण गर्ने जनाएको छ ।

‘यसबाहेक जाँच बिन्दुबाट प्रवाह गरिने सेवाको अनुगमन गर्न जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ,’ प्रजिअ पाण्डेले भने, ‘समितिमा नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश पर्यटन सचिव, प्रहरी प्रमुखहरू र भैरहवा भन्सार प्रमुख रहेका छन् ।’ सबै निकायबीच समन्वय गरेर पर्यटकका लागि सहज वातावरण तयार गर्ने सहमति बनेको उनले बताए ।

दीपेन्द

Link copied successfully