भाउ नपाउँदा बगानमै कुहिन थाल्यो केरा, भारतीय केरा आयात रोक्न किसानको माग

उखुमा भन्दा बढी मुनाफा हुने र बजार पनि राम्रो पाइने आशामा केरा खेतीमा लागेका किसान अहिले केराले पनि मूल्य नपाएपछि चिन्तित छन् ।

भाद्र १९, २०८२

नवीन पौडेल

Bananas started rotting in the garden due to lack of price, farmers' demand to stop import of Indian bananas

What you should know

परासी — पश्चिम नवलपरासीको दक्षिणी भेग उखु खेतीका लागि प्रसिद्ध छ। तर, चिनी उद्योगले समयमा नै भुक्तानी नदिने र लगानी अनुसारको मूल्य निर्धारण नहुँदा यस क्षेत्रका किसान केरा खेतीतर्फ लागे। उखुमा भन्दा बढी मुनाफा हुने र बजार पनि राम्रो पाइने आशामा केरा खेतीमा लागेका किसान अहिले केराले पनि मूल्य नपाएपछि चिन्तित छन् ।

भारतीय केरा सस्तोमा नेपाल भित्रँदा नेपाली किसानले उत्पादन गरेको केराले बजार नपाएर बगानमा नै कुहिन थालेको छ।  किसानले केराको उचित मूल्य कुर्दा-कुर्दै बगानमा नै केरा कुहिन थालेको हो।

सुस्ता गाउँपालिका-५ की चाेखमायाँ घलेले यसअघि सात लाखसम्मको केरा बिक्री गर्दै आएकी थिइन् । तर, यसवर्ष उनले जम्मा ४० हजारको मात्र केरा बिक्री गरेकी छन् । व्यापारी बगानमा नै केरा किन्न आउने, तर १० देखि १५ रुपैयाँ दर्जन मात्र मूल्य दिने भनेपछि उनले बिक्रीका लागि तयार भएको केरा पनि बिक्री गरिनन् ।

‘यसअघि ४०/५० रुपैयाँसम्ममा चाडपर्वको बेला केरा बिक्री हुने गरेको थियो । तर, अहिले लगाएको खर्च पनि नआउने गरेर सस्तोमा केरा किन्न व्यापारी आएका छन्।’ उनले भनिन्,‘ भारतीय केरा रोकेर नेपाली केराको बजार पाउनुपर्दछ । मैले सस्तोमा केरा बिक्री गर्दिन। बरु कुहिएर झरेर मल हुन्छ । ’

प्रतापपुरका सन्तोष कोहिरीको पनि पीडा उस्तै छ । करिब २ बिगाहामा केरा खेती गरेका उनको मुख्य आम्दानीको स्रोत नै यही हो। ऋण लिएर खेती गरेका उनलाई अहिले उत्पादनले मूल्य नपाउँदा ब्याज तिर्न समेत धौ-धौ परेको छ । ‘स्वदेशमा नै केही गरौँ भनेर खेती गर्न सुरु गरियो । विदेश गएको भए ऋण त लाग्दैनथ्यो।’ उनले गुनासो गरे,‘ सरकारले भारतबाट भित्रने केरालाई रोकेर नेपाली उत्पादनलाई प्रोत्साहन नगरे हामी विस्थापित हुने अवस्था आउने छ । ’

सरकारले जिल्लाको प्रतापपुर र सुस्तामा केरा उत्पादनको जोन क्षेत्र नै तोकेको छ। तर, जोन क्षेत्रमा नै किसानको पीडालाई भने राज्यले सम्बोधन गर्न नसकेको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए। भारतबाट सस्तोमा केरा आयात भएपनि उपभोक्ताले भने सस्तोमा केरा उपयोग गर्न पाएका छैनन् । नेपाली किसानको केरा नबिक्ने, उपभोक्ताले पनि सस्तोमा केरा नपाउने र बिचौलियाले नाफा कमाउने अवस्था आएको किसानको गुनासो छ । 

‘जिल्लामा १ हजार ८ सय २५ बिगाहामा केरा खेती हुने र यस वर्ष १० प्रतिशतले क्षेत्रफल बढेको भएपनि मूल्य नपाउँदा बगानमा नै केरा कुहियो।’ यादवले भने,  ‘१ हजार ४ सय २५ मेट्रिक टन केरा उत्पादन भएकोमा आधा भन्दा बढी खेतमा नै कुहिने अवस्था आयो।’

केही किसानले भने सस्तोमा भएपनि केरा बिक्री गरिरहेका छन्। नाफा नभएपनि साहुंको ऋण तिर्नकै लागि भएपनि व्यवसायीले भनेको मूल्यमा बिक्री गर्न बाध्य छन् । 

भारतीय केराको आयात रोक्न प्रशासनलाई ज्ञापन 

नेपाली केराले बजार मूल्य नपाएको भन्दै पश्चिम नवलपरासीका केरा किसानले जिल्ला प्रशासन कार्यालयमा भारतीय केराको आयात रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । केरा उत्पादक सङ्घ नवलपरासीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउदै  अहिले नेपाली उत्पादनले नै बजार धान्ने भन्दै भारतबाट केरा आयात रोक्न माग गरेको हो ।

भारतबाट केरा आयात नरोकेमा नेपाली किसान धरासायी हुने र खेतीबाट नै विस्थापित हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । यसैबीच जिल्लाको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै कम्तीमा पनि तीन महिनाका लागि भारतबाट केरा आयातमा रोक लगाउन र अवैध पैठारी रोक्न केन्द्र सरकार समक्ष आग्रह गरेका छन् । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully