जिल्ला अदालतले कार्कीलाई ४ महिना ६ दिन कैद, उच्च अदालतले शेषलाई ४ वर्ष कैद र रु ५ हजार जरिवाना तोकेको थियो।
बर्दिया — लागुऔषध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–४ का २३ वर्षीय निरज कार्की र गुलरिया नगरपालिका–१२ का नादिर हुसेन शेषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
विसं २०८१ साल असार १० गते जिल्ला अदालतले लागुऔषधसम्बन्धी मुद्दामा कार्कीलाई ४ महिना ६ दिन कैद र रु २ सय पीडित राहत कोषमा जम्मा हुने गरी फैसला गरेको थियो ।
यस्तै, गत असार २४ गते उच्च अदालत तुलसीपुर, नेपालगन्जले लागुऔषध मुद्दामा शेषलाई ४ वर्ष कैद र रु ५ हजार जरिवाना तोकेको थियो । अदालतले जरिवाना र सजाय तोकेदेखि दुवै जना फरार थिए ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मंगलबार अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।
