मोटरसाइकल दुर्घटनामा अपाङ्ग बनेका युवकले टिकटकबाट उपचार खर्च जुटाउँदै मनकारीहरूबाट सहयोग जुटाइरहेका छन्।
What you should know
नेपालगन्ज — दुई छोरा र पत्नीसँग बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीमा बस्दै आएका ३६ वर्षीय मानबहादुर बुढा अहिले ह्वीलचियरको सहाराबिना बस्न सक्दैनन् ।
न त खुट्टाले उभिन सक्छन्, न दुई हातको भर नै छ । परिवारका सदस्यको सहायतामा उनी घर भित्र बाहिर गर्छन् । २०७८ फागुन २२ गते मोटरसाइकल दुर्घटनामा परी उनी घाइते भएका थिए । उक्त दुर्घटनामा उनका फुपुका छोराले ज्यान गुमाए । उनी बाँच्न सफल भए पनि कम्मरभन्दा मुनिको भाग चल्दैन । टाउकोसमेत आफैं थामिँदैन ।
५ वर्षीय छोरा र ११ वर्षीया छोरा वडा मार्फत नि:शुल्क पढिरहे पनि दैनिक खर्चको जोहो गर्न उनको परिवारलाई सकस छ । नियमित गर्नुपर्ने फिजियो थेरापी पनि रकम अभावका कारण गर्न सकेका छैनन् ।
त्यही ह्वीलचियरको सहारा लिँदै उनी अहिले टिकटकबाट आफ्नो उपचारका लागि खर्च जुटाउँदै आएका छन् ।
‘उपचारमा पसलदेखि भएका सबै सम्पत्ति बेचे, बस्नका लागि घर बाहेक केही छैन । वर्षभरी खेतीबाट बटैयाको १५ हजार आउँछ । त्यो बाहेक जिबिका चलाउने स्रोत छैन,’ बुढाले भने, ‘दुई वर्षदेखि यही टिकटकबाट उपचार खर्च जुटाउँदै आएको छु । मनकारी हरुले सहयोग गर्दै आउनुभएको छ ।’
तीन महिना वाइफाइको पैसा बुझाउन नसक्दा उनले वाइफाइ काटेका थिए । वर्ल्डलिंकको वाइफाइको कस्टमर केयर टिम घर–घरमा पुग्ने अभियानमा पुग्दा उनको अवस्था देखेपछि उनलाई आर्थिक तथा एक वर्षको नि:शुल्क सेवासमेत दियो ।
सात वर्षअघि वर्ल्डलिंकको ग्राहक भएका बुढालाई अफ्ठयारो परेको बेला सहयोग गर्नु आफनो संस्थाको दायित्व ठानेर नगद २५ हजारको चेक तथा एक वर्षको नि:शुल्क वाइफाई उपलब्ध गराएको कोहलपुर क्षेत्रीय म्यानेजर अनुप मानन्धरले बताए ।
