गुल्मीमा गाउँघर छाडेर बसाइँसराइ गर्ने संख्या बढ्दो छ । यद्यपि बसाइँसराइ गर्ने तर प्रमाणपत्र लिएरै थातथलो छाड्नेको संख्या भने कम देखिन्छ ।
What you should know
गुल्मी — वैदेशिक रोजगार र सुविधाको खोजीमा सहरकेन्द्रित बसाइँसराइले ग्रामीण भेगका गाउँबस्ती रित्तिन थालेका छन् । बाँदर र बँदेल जस्ता जंगली जनावरको आतंकले बसाइँसराइ बढेको हो ।
गुल्मीमा गाउँघर छाडेर बसाइँसराइ गर्ने संख्या बढ्दो छ । यद्यपि बसाइँसराइ गर्ने तर प्रमाणपत्र लिएरै थातथलो छाड्नेको संख्या भने कम देखिन्छ । बसाइँसराइ प्रमाणपत्र लिएरै जानेलाई आधिकारिक मान्दा बसाइँसराइ गरी जाने दोब्बर संख्या भए पनि तथ्यांकमा कम देखिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा गुल्मीबाट अन्यत्र बसाइँसराइ गर्ने तथ्यांकमा ११ सय ७४ परिवार रहेका छन् । जसमा ४ हजार २५ जना रहेको स्थानीय पालिकाहरूको पञ्जीकरण शाखाको तथ्याकंले देखाएको छ । मुसिकोट नगरपालिकाबाट सबैभन्दा बढी १५९ घरपरिवारका ६ सय ९६ परिवार सदस्यले बसाइँसराइ गरेको पञ्जीकरण शाखाका प्रमुख विष्णुप्रसाद फुल्लेलले जानकारी दिए ।
रेसुंगा नगपालिकाका ८२ घरपरिवारका २ सय ७१ परिवार सदस्य, कालीगण्डकी गाउँपालिकाका १ सय ११ घरपरिवारका ४ सय १६ परिवार सदस्य, चन्द्रकोटका १ सय ३७ घरपरिवारका ५ सय ६५ परिवार सदस्य, सत्यवतीका १ सय २३ घरपरिवारका ४ सय ६४ परिवार सदस्य र रुरुक्षेत्रका १ सय ३ घरपरिवारका ३ सय ५६ परिवार सदस्य, बसाइँसराइ गरेका छन् ।
त्यस्तै छत्रकोटका १ सय १४ घरपरिवारका ३ सय ८६ परिवार सदस्य, गुल्मीदरबारका ७५ घरपरिवारका २ सय ८५ परिवार सदस्य, धुर्कोटका ९० घरपरिवारका ३ सय १९ परिवार सदस्य, इस्माका ५६ घरपरिवारका १ सय ७५ परिवार सदस्य, मालिकाका ५७ घरपरिवारका २ सय १८ परिवार सदस्य र मदानेका ६७ घरपरिवारका २ सय ६० परिवार सदस्य प्रमाणपत्र लिएरै बसाइँसराइ गरेको स्थानीय पालिकाको पञ्जीकरण शाखाले जनाएका छन् ।
पञ्जीकरण शाखाका अनुसार जिल्लाका १२ पालिकामा २ सय ३ परिवारका ६ सय ५१ जना बसाइँसराइ गरी आएको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय ग्रामीण भेगमा पक्की सडक, शिक्षामा थप सुधार, घरमै खानेपानी र स्वास्थ्यमा आधारभूत सेवालगायतको सुविधा पुगे पनि बसाइँसराइ गर्नेको क्रम भने रोकिएको छैन् । समयको आवश्यकताअनुसार भइरहेको बसाइँसराइ रोकिने छाँटकाँट नदेखिएपछि यसप्रति चिन्ता बढे पनि चासो भने बढेको छैन् ।
