पाल्पाको दोभानमा सडक भासिएपछि तीन महिनादेखि सवारीसाधन ठप्प

स्थानीयका अनुसार कतिपय स्थानमा पहिरो खसेर र सडक भासिएर हिँड्न मिल्ने अवस्था पनि छैन ।

भाद्र ८, २०८२

माधव अर्याल

Traffic stopped for three months after the road was washed away in Palpa's Dobhan

What you should know

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा सडक भासिएपछि तीन महिनादेखि ठप्प सवारीसाधन अझै सञ्चालन आउन सकेका छैनन् । दोभान–झ्याङला–हरियाली गाउँ जोड्ने सडकको जमुने र झ्याङलाबीचको बन्चरे पहाडमा सडक भासिएको हो । ठाउँठाउँमा पहिरोसमेत खसेको छ । पहिरोले माछा पोखरी, धानखेतमासमेत क्षति पुगेको छ । 

सडक भासिने र पहिरो खसेपछि झन्डै दर्जनभन्दा बढी बस्तीमा सवारीसाधन चल्न नसकेको झ्याङला टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर केसीले बताए । उनका अनुसार दोभान नजिकै बन्चरे पहाडमा झन्डै सय मिटर क्षेत्रमा सडक भासिएको छ । नजिकै पहिरोसमेत खसेपछि गत जेठ २२ गतेपछि नै सवारीसाधन सञ्चालन गर्न नसकिएको उनले बताए । 

‘तीन महिनादेखि नै सडकमा सवारीसाधन चल्न सकेको छैन,’ उनले भने, ‘तल्लो भागमा दोभान खोलाले कटान गर्दै लगेकाले सडक भासिन रोकिएको छैन । त्यसका लागि स्थायी समाधान गर्ने पहल नहुँदा बर्सेनि दुःख पाउनुपरेको छ ।’ पहिरो खस्ने र सडक भासिने भएपछि झ्याङला, बगाहा, पाल्टाङ्गे, खुल्खुले, भुताहा, हरियालीगाउँ, हापुर, महापुर र हरियाली गाउँ, बेओरे, तोरीबारी लगायतका बासिन्दालाई समस्या भएको छ । यहाँका बासिन्दा एक घण्टादेखि तीन घण्टासम्म पैदल हिँड्न बाध्य छन् । 

स्थानीयका अनुसार कतिपय स्थानमा पहिरो खसेर र सडक भासिएर पैदलसमेत हिँड्न मिल्ने अवस्था छैन । गाउँबाट झोलुङ्गेपुल तरेर खोलापारिको गाउँमा पुगेपछि मात्र सानाठूला सवारीसाधनमा वडा तथा गाउँपालिका कार्यालय जान सकिएको छ ।

Traffic stopped for three months after the road was washed away in Palpa's Dobhan

यहाँका बासिन्दाको बजार बुटवल हो । दैनिक उत्पादित सामान लैजाने, खाद्यान्न लगायत बोकाएर गाउँ लग्नुपर्ने बाध्यता छ । ‘मान्छे हिँड्नसमेत भासिएको स्थानमा सिँढी लगाएर हिड्नुपर्छ,’ उनले भने, ‘सडक भासिएपछि पैदल हिँड्नसमेत समस्या भएको छ ।’ अघिल्लो वर्ष पनि यहाँ सडक भासिएर झण्डै तीन महिना सवारीसाधन ठप्प भएको थियो । यसवर्ष पनि पुनः यस भेगका बासिन्दाले सास्ती खेप्नु परेको गुनासो गरेका छन् । 

तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले गत वर्ष भासिएको पहिरोलाई मर्मत गरेर हिउँदमा सवारीसाधन सञ्चालन गर्न सकिने बनाइएको बताए । यस वर्ष यही सडकअन्तर्गत संघीय बजेट १ करोड ५० लाख विनियोजन भएको उनले बताए ।

Traffic stopped for three months after the road was washed away in Palpa's Dobhan

बन्चरे पहाडको भासिएको सडक क्षेत्रलाई ७५ लाख खर्च गर्ने गरी काम अघि बढेको उपाध्यक्ष थापाको भनाइ छ । ‘वर्षायाममा बनाएर पुनः भासिने समस्या रहेको छ,’ उनले भने, ‘त्यसैले पानी पर्न छाडेपछि मात्र यसलाई मर्मत गरेर सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाइनेछ ।’

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully