रेसुंगामा साउने मेला : १२ लाख ६५ हजार आम्दानी

रेसुंगा संरक्षण समितिको बैंकमा ८० लाख बचत रहेको र करोडमाथि पुगेपछि विकासका काममा खर्च गर्ने योजना बनाएको बताएको छ।

भाद्र ५, २०८२

सन्तोष महतारा

Saune Mela in Resunga: 1.2 lakh 65 thousand income

गुल्मी — पर्यटकीय र ऐतिहासिक धार्मिक स्थल रेसुंगामा लागेको एक महिने साउने मेलाबाट १२ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको छ । रेसुंगा संरक्षण समितिले मंगलबार पत्रकार सम्मेलनमार्फत आयव्यय सार्वजनिक गरेको हो ।

साउन महिनाभर लागेको मेलाबाट २६ लाख २५ हजार रुपैयाँ संकलन भएकामा १३ लाख ६० हजार रुपैयाँ खर्च भएको रेसुंगा संरक्षण समितिका कोषाध्यक्ष नेत्रबहादुर बस्नेतले बताए । जसअनुसार जम्मा १२ लाख ६५ हजार आम्दानी भएको कोषाध्यक्ष बस्नेतले बताए ।

आम्दानीतर्फ नगद भेटी, दैनिक मन्दिर र दानपत्रबाट भेटी, टावर शुल्क, भजन प्रतियोगिता प्रायोजक, तीज गीत प्रतियोगिता प्रायोजक र अलौकिक शिविर रहेका छन् । जसमा खर्च तलब, सामग्री खरिद, प्रसाद र खाद्यान्न वितरण, दक्षिणा खर्च, प्रचारप्रसार, यातायात, प्रतियोगिता पुरस्कार, अलौकिक शिविर खर्च र मसलन्द खर्च रहेका छन् । समितिसँग हाल यसबाहेक ८० लाख रुपैयाँ बैंक बचत रहेको छ ।  

रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बचत रकम करोडमाथि  पुगेपछि रेसुंगाको विकासमा प्रयोग गरिने बताए । ‘हामीले संकलन गरेको रकम रेसुंगाको विकासका लागि नै खर्च गर्ने हो,’ उनले भने, ‘बढी रकम भएपछि परिणाम देखिने गरी काम गर्न पर्खिरहेका छौं ।’

गुल्मी सदरमुकाम तम्घासको शिरमा रहेको रेसुंगामा साउन महिनाभर मेला लागेको थियो । प्रत्येक वर्ष रेसुंगामा साउने मेला लाग्ने गर्छ । यस वर्ष रेसुंगामा २ लाख बढीले अवलोकन गरेको रेसुंगा संरक्षण समितिले जनाएको छ ।

सन्तोष

Link copied successfully