परिश्रम र धैर्यताले मात्र व्यावसायिक घराना बन्न सकिन्छ : मुख्यमन्त्री आचार्य

पुस्तकमा अग्रवाल परिवारको इतिहासदेखि वर्तमानसम्म समेटिएको छ, यो हाम्रो परिवारमात्र नभएर समाजकै लागि दस्तावेज हुनेछ : राजेश अग्रवाल

भाद्र ५, २०८२

दीपेन्द्र बडुवाल

Only with hard work and patience can one become a professional family: Chief Minister Acharya

What you should know

भैरहवा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योग व्यापार क्षेत्रमा लामो समयसम्म गरिने परिश्रम, लगानी र धैर्यले मात्र व्यावसायिक घराना बन्न सकिने बताएका छन् । मुलुकमा रहेका ठूला व्यापारिक घरानाले उद्योग व्यापार क्षेत्रमा वर्षौं पहिलेदेखि लगानी र मिहिनेत गरेकाले अहिले सफलता प्राप्त गरिरहेको उनले बताए । 

रूपन्देहीको भैरहवामा बिहीबार साँझ ‘सरलताका आदर्श प्रल्हादकुमार अग्रवाल’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अहिलेको पुस्ताले लगानी गरेको एक/दुई वर्षमै प्रतिफल खोज्ने गरेकाले निराशा छाइरहेको बताए ।

भैरहवाका पुराना उद्योगी प्रल्हादकुमार अग्रवालको स्मृतिमा उनको परिवारले पुस्तक प्रकाशित गरेको हो । पुस्तकमा अग्रवाल परिवारको विगतदेखि वर्तमानसम्मको इतिहास समेटिएको छ । 

‘९० वर्षको परिश्रम, लगानी र त्यागका कारण भैरहवामा अग्रवाल परिवार औद्योगिक घरानाका रूपमा स्थापित भएको हो,’ उनले भने, ‘अहिले लगानीको एक/दुई वर्षमा नाफा नकमाए सडकमा पुगेँ भनेर रोदन गरिन्छ ।’

स्वर्गीय अग्रवालका छोरा उद्योगपति राजेशकुमार अग्रवालले आफ्ना पिताको औद्योगिक र सामाजिक योगदान समेटेर पुस्तक प्रकाशित गरेका हुन् । रूपन्देहीका अग्रणी उद्योगपति राजेशकुमार अग्रवालको समृद्धिका पछाडि उनका पिताको प्रेरणाले काम गरेको मुख्यमन्त्री आचार्यले बताए । 

विमोचन कार्यक्रममा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँडले भैरहवाका प्रतिष्ठित उद्योगी प्रल्हादकुमार अग्रवालको देहवसानको २१ वर्षपछि परिवारले नयाँ पुस्तालाई उद्योग व्यवसायमा लाग्न प्रेरित गर्ने स्मृति ग्रन्थ सार्वजनिक गरेकामा धन्यवाद दिए ।

‘यो पुस्तक भैरहवाको गौरव संरक्षण गर्ने दस्तावेज बनेको छ,’ उनले भने, ‘मुलुकको आर्थिक विकासमा अग्रवाल परिवारको ठूलो योगदान छ, राज्यले सम्मान गर्नुपर्ने परिवारले आफ्नो इतिहास समेटेर पुस्तक तयार गरेको छ । यसबाट औद्योगिक क्षेत्रमा लगानी गर्न नयाँ पुस्तालाई प्रेरणा मिल्नेछ ।’

लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले अहिलेका मानिसले भोलि राम्रो दिन आउला भन्दै कामको थालनीमा ढिलाइ गरिरहेको बताए । ‘हामी भोलिका दिन कुरिरहेका छौं,’ उनले भने, ‘तर समय पर्खिंदैन ।’

स्वर्गीय अग्रवालले पनि भोलि काम गर्छु भनेर नसाँचेका कारण छोटो समयमा ख्याति कमाउनुका साथै सामाजिक रूपमा योगदान पुर्‍याउन सकेको उनले बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले भैरहवाको आर्थिक विकासको जग बसाउन अग्रवाल परिवारको भूमिका रहेको उल्लेख गरे । हाटबजारमा सामान बिक्री गरेर सुरु भएको व्यवसाय अहिले औद्योगिक घरानामा रूपान्तरण भएको उनले बताए । 

उद्योगी राजेशकुमार अग्रवालले आफ्ना पिताको मार्ग निर्देशनले नै आफ्नो परिवार अहिले उद्योग व्यवसायका क्षेत्रमा स्थापित भएको सुनाए । आफन्त, नातागोता र बुवाका साथीहरूसित कुराकानी गरेर पुस्तक तयार गरिएको उनले बताए । पुस्तक तयार गर्ने क्रममा अन्तर्वार्ताकार आरपी भट्टराईले डेढ सय जनासित कुराकानी गरेको अग्रवालले बताए ।

‘पुस्तकमा अग्रवाल परिवारको इतिहासदेखि वर्तमानसम्म समेटिएको छ,’ उनले भने, ‘यो हाम्रो परिवारमात्र नभएर समाजकै लागि दस्तावेज हुनेछ ।’ विमोचन कार्यक्रममा अग्रवाल परिवारका तीन पुस्ताले आफ्ना भनाइ र प्रल्हादकुमार अग्रवालसितका सम्झना सुनाएका थिए भने स्वर्गीय अग्रवालका साथीहरू दिलीप भट्टराई र अर्जुनजंग राणाले पनि तत्कालीन समयमा बिताएका पलबारे स्मरण गरेका थिए । यस क्रममा स्वर्गीय अग्रवालबारे वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

दीपेन्द्र बडुवाल

Link copied successfully