रेसुंगा नगरभित्र बाँकी दुई वर्षमा ३५ किलोमिटर सडक पक्की गरी एक सय किलोमिटर सडक पक्की गर्ने लक्ष्य : नगर प्रमुख पन्थी
What you should know
गुल्मी — रेसुंगा नगरपालिकाभित्र तीन वर्षमा ६५ किलोमिटर सडक पक्की भएको छ । सदरमुकाम तम्घाससहित आसपासको क्षेत्र समेटिएको नगरपालिकाका १४ वटा वडामा तीन वर्षमा उक्त सडक कालोपत्र र ढलान गरी पक्की बनेको हो ।
रेसुंगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति सार्वजनिक गर्ने क्रममा २३ किलोमिटर सडक पक्की गर्न सफल भएको जानकारी गराएको छ । त्यसअघि नगरभित्र आर्थिक वर्ष २०७९/८० मा २४ किलोमिटर र आर्थिक वर्ष २०८०/८१ मा १७ किलोमिटर सडक कालपत्र र आरसीसी ढलान गरी पक्की सडक बनेको नगर प्रमुख खिलध्वज पन्थीले बताए ।
रेसुङ्गा नगरपालिका-६ थामा, वडा ४ अर्खलेमा स्वामीका रुख-मसिनापोखरी सडक, सेउघा-बलालकाबारी सडक, रायढुङ्गा-खाम्सेपानी सडक र डीएनडी चोक-भण्डारी टोल सडक आरसीसी ढलान, नाली निर्माण र कालोपत्र भएका छन् ।
वडा नम्बर ३ मा बेंहोरे सडक, भनभने-नुनथला-बाँझीपोखरी सडक, तम्घास भाडागाउँ बाँझाघाट आरसीसी ढलान र कालापत्र गरी पक्की सडक बनेको छ । वडा नम्बर १३ मा दुबीचौर सडक, ढिकीडाँडा-नुनथला सडक, वडा कार्यालय जाने सडक, पँधेंराखोला-कालिका मन्दिर सडक र सिराना घुम्ती-कल्लेरी-गुल्मीदरबार सडक कालोपत्र बनेका छन् । नगरभित्र तम्घासका सबै टोलका सडक पक्की बनेका छन् ।
रेसुंगा नगरपालिकामा तीन आर्थिक वर्षमा खाम्सेपानी-भुवनपानी-रातडाँडा सडक, तम्घास बजार क्षेत्र सडक, तम्घास-रेसुङ्गा सडक, खाम्सेपानी-नेटाखर्क सडक, आदर्शचोक-सेतोगुराँस सडक, सेउघा-सिमाघाट सडक र घुम्ती-तम्घास सडक पक्की बनेका छन् ।
तम्घास-खाम्सेपानी सडक, तम्घास-नेटा सडक, नेटा-अडबिसे सडक, रातडाँडा-सिमलपाटा कृषि सडक, देउराली-कमेरेपानी सडक, आदर्शबोडिङ्ग-पुतलीबजार सडक, कोलिनिका-रेसुङ्गा स्कुल सडक र आदर्शचोक-सेतो गुराँस सडक पनि पक्की बनेका छन् ।
त्यस्तै एभरग्रीन-कारागार सडक, थापाटोल सडक, खाम्सेपानी-बर्दबास सडक, पोखरेलटोल-सानी पीपल सडक, रानीगाडे सडक, साउनेखोला-लामडाँडा सडक, आठबिसे-अतरकाँडा-बालकाटे सडक र लाम्पटा-डाँडाखर्क-बरारुख सडक पक्की बनेका छन् ।
साथै साखिने-कुँडापानी सडक, भुजेलटोल-एभरग्रीन सडक, पाँचदोबाटो-हुँगेली टोल सडक, पाँचदोबाटो-थुम्का सडक, बजाज सोरुम-जिल्ला प्रहरी-शिवालय टोल सडक र पाण्डेटोल-मरासिनी टोल सडक पनि पक्की बनेका छन् ।
त्यस्तै बगालेखोला सडक, चारीखोला सडक, विद्युत् रिङरोड सडक, फेरा-भुल्के सडक, धरमपानी-तानाम्ग सडक, आमडाँडा सडक, आमडाँडा-थापाटोल सडक, दह-रैया सडक, उर्लेनी सडक, हृवाक्ने छहरा-बुढीझिर्मी सडक र गर्जरा-पराल्मी सडक पनि कलोपत्र र अरसीसी ढलान गरी पक्की बनेका छन् ।
नगरपालिकाभित्र आर्थिक वर्ष २०८१/८२ म मात्रै सडकसहित अन्य विकास बजेटअन्तर्गत ९२ करोड रुपैयाँको काम भएको छ । नगर प्रमुख पन्थीले पूर्वाधार क्षेत्रको आधारस्तम्भ सडक पूर्वाधारको क्षेत्रमा विकास भएको बताए । ‘हामीले धेरै सडक कालोपत्र र ढलान गरी पक्की गर्न सफल भएका छौं,’ उनले भने, ‘सहज सडकले विकासका अन्य आधार पनि तय गर्दछ ।’
रेसुंगा नगरभित्र बाँकी दुई वर्षमा ३५ किलोमिटर सडक पक्की गरी एक सय किलोमिटर सडक पक्की गर्ने लक्ष्य रहेको उनले बताए । नगरपालिकाले सडकसँगै गुल्मी अस्पतालमा स्वास्थ्य सेवाको पहुँच, रेसुङ्गा बहमुखी क्याम्पसमा शिक्षाको पहुँच र घरघरमै स्वास्थ्य सेवा लगायतमा पनि काम गरेको छ ।
