ड्रागन फ्रुटले बजार पाउँदा किसान उत्साहित 

स्थानीय र बाह्य बजारमा माग बढेपछि ड्रागन फ्रुट खेतीले किसानलाई आर्थिक लाभ पुर्‍याइरहेको छ।

भाद्र ४, २०८२

कमल पन्थी

Farmers excited to find market for dragon fruit

What you should know

बर्दिया — बर्दियाका किसानहरु ड्रागन फ्रुटको खेतीतर्फ आकर्षित हुन थालेकाछन । ड्रागन फ्रुट खरिद गर्न व्यवसायी खेतमै पुग्न थालेपछि किसान उत्साहित भएका हुन् ।

एक पटक बोट लगाए पच्चिस वर्षसम्म फल दिएर आम्दानी हुने गरेकाले किसान ड्रागन फ्रुट खेतीमा लगानी गर्न थालेका छन् ।  गुलरिया नगरपालिका—८ सुरजपुरका हिम बहादुर पुन दुई वर्षदेखि ड्रागन फ्रुटको खेती गर्दे आएका छन् ।

ड्रागन फ्रुट प्रतिकिलो करिब ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ । २ कट्ठामा लगाएको ड्रागन फ्रुटबाट खर्च कटाएर वार्षिक ५ लाखसम्म बचत हुने गरेको उनले जनाए । ‘थोक व्यापारी खेतमै आएर खरिद गरी लैजाने गरेका छन्,’ उनले भने, ‘फुटकर खरिद गर्ने पनि खेतमा आउने गरेका छन् ।’

यसको माग स्थानीय बजारबाहेक सुर्खेत, दैलेख, नेपालगन्ज जस्ता बजारमा बढी छ । फूल लागेको एक महिनामा फल पाक्ने र बजारमा लिन सकिने भएका कारण पनि किसान यसतर्फ उत्साहित हुन् ।

सुरुका वर्ष उत्पादन कम हुने र दोस्रो पटक धेरै फल दिने गरेको किसान बताउँछन् । मधुवन नगरपालिका–८ का किसान लता मल्लले ड्रागन फ्रुट पानी नजम्ने उच्च जमिनमा धेरै फल्ने बताइन् । 

माग धेरै भएकाले अहिले १८ कट्ठा खेतमा ड्रागन फ्रुट लगाएको बताइन् । ‘एक पटक लगाएको बोटले २५ वर्ष सम्म फल दिने गरेको छ,’ उनले भनिन् । पछिल्लो समयमा राम्रो मूल्य पाउने भएका कारण ड्रागन फ्रुटको खेतीमा किसानको लगानी बढेको हो । 

तर बजारको सुनिश्चितता नहुँदा दीर्घकालीन खेतीमा भने ठूलो लगानी गर्न अन्योल गरेको उनको भनाइ छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय, बर्दियाका प्रमुख सागर ढकालले बर्दियामा ५ सय बिघा बढी क्षेत्रफलमा ड्रागन खेती हुने गरेको बताए । बर्दिया बाहेक अहिले बाँकेको खजुरामा ड्रागन फ्रुटको खेती हुने गर्छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully