एक महिनामा ३० हजारको दन्त परीक्षण गर्ने र परामर्श दिइने अभियानको लक्ष्य छ ।
What you should know
रूपन्देही — बुटवलमा एकमहिने स्वस्थ मुख महाअभियान सुरु गरिएको छ । अभियानको एक विशेष समारोहका बीच बुधबार उद्घाटन गरिएको हो ।
‘पैसाको अभावमा कसैले दन्त पीडा सहन नपरोस्, पैसाको अभावमा कोही मुस्कुराउन नछुटोस्’ भन्ने नारासहित मुखको निःशुल्क परीक्षण गर्ने, गिंजा र दाँत सफा गर्ने, ब्रस गर्ने सही तरिका सिकाइनेछ ।
एक महिनामा ३० हजार जनालाई मुखको स्वास्थ्य र दन्त परीक्षणबारे सचेत बनाउने गरी अभियान थालिएको हो । आधुनिक समाज विकास फाउन्डेसनले आधुनिक समाज डेन्टल केयर प्रालि, लायन्स क्लब अफ रूपन्देही, रोटरी क्लब अफ लुम्बिनी स्टार्स, दारी ग्याङलगायत क्लबको सहकार्यमा अभियान चलाएको हो । 
अभियान अन्तर्गत रूपन्देहीका १६ पालिकाभित्रका संघ–संस्थाका अगुवालाई दैनिक रूपमा मुखको स्वास्थ्यबारे प्रशिक्षण दिइने आधुनिक समाज विकास फाउन्डेसनका अध्यक्ष अमृत भुसालले बताए । दन्तरोग विशेषज्ञ सुनिल खरेलको अगुवाइमा उपचार हुनेछ ।
स्वस्थ मुख महाअभियानमा राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, लेखक, शिक्षक, बुद्धिजीवी, व्यावसायिक संघ–संस्था, सञ्चारकर्मी, युवा क्लब लगायत सबैको सहभागिता रहनेछ । जसमा प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तीन दन्त चिकित्सक र प्राविधिक टिमसहित निःशुल्क सेवा दिइनेछ ।
चिकित्सकहरूका अनुसार मुख स्वास्थ्य उपचारले शरीरमा लाग्ने ५० प्रतिशत रोगलाई न्यूनीकरण गर्न सकिन्छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पी नेपालका गभर्नर बालाराम भट्टराईले सामाजिक उत्तरदायित्व बहन गर्न र उपचारको पहुँचबाट टाढा रहेकालाई उपचारको पहुँचमा ल्याउन स्वस्थ मुख महाअभियानमा लागेको बताए ।
