एक महिनामा ३० फरार प्रतिवादी पक्राउ

साउन महिनामा विभिन्न स्थानमा गरिएको सवारी चेकजाँचबाट ट्राफिक नियम उल्लंघन गर्ने चालकबाट २ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भाद्र ४, २०८२

मनोज पौडेल

30 fugitive accused arrested in one month

कपिलवस्तु — प्रहरीले साउन महिनामा विभिन्न कसुरमा दोषी ठहर भएका ३० फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतले दोषी ठहर गरेकामा सजाय भुक्तान नगरी फरार रहेकालाई पक्राउ गरिएको हो ।

२४ पुरुष र ६ महिलालाई जिल्लाका विभिन्न स्थानबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । पक्राउ परेकाबाट ६ वर्ष ३ महिना २ दिन कैद र ३ लाख १२ हजार ५ सय ४० रुपैयाँ जरिवाना असुल गरिएको छ ।

त्यस्तै साउन महिनामै १३ ग्राम ५ सय ९१ मिलिग्राम ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरी चार जनालाई मुद्दा दर्ता गरिएको छ । त्यसैगरी साउन महिनामा विभिन्न स्थानमा गरिएको सवारी चेकजाँचबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकबाट २ लाख ७० हजार रुपैयाँ राजस्व पनि संकलन भएको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully