जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बर्दिया — जुवातास खेलिरहेको अवस्थामा नगदसहित दश जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–३ शान्तिपुर स्थितबाट जुवातास खेलिरहेका उनीहरुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
बाँसगढी नगरपालिका–३ शान्तिपुरस्थित खिमबहादुर महतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जुवा खालबाट नगद ५४ हजार ३ सय १५, २ गड्डी तास र ५ वटा मोबाइल बरामद गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–३ शान्तिपुरका १८ वर्षीय सौगात खड्का, ३१ वर्षीय साजित गुजर, २८ वर्षीय अनुप खड्का, ३३ वर्षीय लोक बहादुर खड्का र ४१ वर्षीय राम शरण थारु रहेका छन् ।
यस्तै सोही ठाउँका ६० वर्षीय खिम बहादुर महत, ३९ वर्षीय भुपेन्द्र डाँगी, ५१ वर्षीय रामु खड्का, ३० वर्षीय विजय कुमार खड्का र २५ वर्षीय धिरज कुमार खत्री रहेका छन् ।
उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।
