चितुवा नियन्त्रणमा नलिएसम्म शव नबुझ्ने भन्दै पीडितले घेरे प्रशासन कार्यालय

शुक्रबार साँझ गुलरिया नगरपालिका–१२ भैंसाही गाउँको पश्चिम खेतमा धान गोडिरहेको अवस्थामा चितुवाले आक्रमण गरी ४५ वर्षीया जगतरानी थारुको ज्यान लिएको थियो ।

भाद्र १, २०८२

रामप्रसाद चौहान 

The victims surrounded the administration office saying that they will not release the body until the leopard is brought under control

What you should know

बर्दिया — समस्याग्रस्त चितुवा नियन्त्रण लिनुपर्ने मागसहित गुलरियाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । चितुवा नियन्त्रणमा लिएपछि मात्र शव बुझ्ने पनि उनीहरुको अडान छ ।

शुक्रबार साँझ गुलरिया नगरपालिका–१२ भैंसाही गाउँको पश्चिम खेतमा धान गोडिरहेको अवस्थामा चितुवाले आक्रमण गरी ४५ वर्षीया जगतरानी थारुको ज्यान लिएको थियो । धान खेतबाट घिसार्दै एक सय मिटर उखुबारीमा लगेर टाउको र शरीर अलग पारी खाएको अवस्थामा थारुको शव शनिबार बिहान फेला परेको थियो । अहिले महिलाको शव बर्दिया अस्पतालमा राखिएको छ ।

उक्त चितुवा गाउँ वरिपरि डुलिरहेकाले त्रास फैलाएको भन्दै आफन्त र गाउँलेले नियन्त्रणमा लिन आइतबार दिउँसो प्रशासनलाई दबाब दिएका हुन् ।

खेतमा गएको बेला महिलालाई चितुवाले खाएपछि स्थानीय त्रसित बनेका छन् । विद्यालय जाने साना बालबालिकालाई चितुवाले आक्रमण गर्न सक्ने प्रबल सम्भावना रहेकोले समस्याग्रस्त चितुवा तत्काल नियन्त्रण लिन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन आएको गुलरिया नगरपालिका–१२ का वडाध्यक्ष राम कुमार थारुले बताए । ‘ज्ञापनपत्रमा सातबुँदे माग राखी प्रजिअलाई बुझाएका छौं,’ अध्यक्ष थारुले भने, ‘सम्बन्धित निकायले समुदायको मागलाई तत्काल सम्बोधन गर्न जरुरी छ ।’

गाउँ वरिपरि डुलिरहेको चितुवालाई डिभिजन वनले नियन्त्रणमा नलिएसम्म शव नबुझ्ने मृतकका आफन्तले बताएका छन् ।

समस्याग्रस्त चितुवालाई तत्काल नियन्त्रणमा लिई जिउज्यानको सुरक्षा गरिनुपर्ने, मृतक परिवारलाई कानुनबमोजिम क्षतिपूर्तिको व्यवस्था, चितुवा नियन्त्रणमा लिन १० वटा केजको व्यवस्था, चितुवा नियन्त्रण नलिएसम्म शव नलिने लगायतका माग उनीहरुले राखेका छन् ।

समस्याग्रस्त चितुवा नियन्त्रण लिन शनिबार घटनास्थल क्षेत्रमा एउटा केज राखिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले जनाएका छन् ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully