बर्दियामा वन्यजन्तुको आक्रमणमा परी महिलाको मृत्यु

खेतमा काम गर्न गएकी महिलाको घाँटी र टाउको अलग भएको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ ।

श्रावण ३१, २०८२

कमल पन्थी, रामप्रसाद चौहान 

Woman dies after being attacked by wild animals in Bardia

What you should know

बर्दिया — गुलरिया नगरपालिका–१२ भैसाही गाउँदेखि पश्चिममा रहेको नर्सरी वन नजिकै आफ्नो खेतमा काम गरिरहेको अवस्थामा वन्यजन्तुको आक्रमणमा परेर महिलाको मृत्यु भएको छ । ती महिलाको घाँटी र टाउको अलग भएको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ ।

शव भेटिएको बारे शनिबार दिउँसो करिब ११ बजेर २० मिनेटमा प्रहरी र सशस्त्र प्रहरी बललाई स्थानीयले जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी चक्रडमर पालले मृत्यु हुनेमा भैसाहीकी करिब ४५ वर्षीया जगतरानी थारु भएको बताए । उनलाई आक्रमण गर्ने बाघ हो या चितुवा भन्ने कुरा पोस्टमार्टम नभएसम्म यकिन गर्न नसकिने उनले बताए । उनले भने, ‘वन्यजन्तुले मारेको जस्तो लाग्छ, शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया ल्याएका छौँ ।'

स्थानीय जगतराम चौधरीले मृतक थारु ममफली गोड्न शुक्रबार बेलुका त्यहाँ पुगेको बताए । 'जगतरानी घर नआएपछि स्थानीयले खोजी गर्दा शनिबार शव फेला पारेको हो,’ उनले भने, ‘उक्त घटनापछि स्थानीय त्रसित भएका छन् ।' 

मृतक जगतरानीका श्रीमान् र ठूलो छोरा रोजगारीका क्रममा बाहिर रहेका छन् । घरमा १४ वर्षीय एक छोरा र बुहारी मात्र छन् । गाउँमै माइत रहेकोले उनी उतै बसेकी होलिन् भनेर शुक्रबार साँझ उनको खोजी नगरेको छिमेकी चम्पा थारुले बताइन् । 

जिल्ला वन कार्यालयका कर्मचारी पनि चितुवा वा बाघ भन्न नमिल्ने अवस्थाको शव भएको बताएका छन् । डिभिजन वन कार्यालय, बर्दियाका सूचना अधिकारी वरिष्ठ सहायक वन अधिकृत रामकुमार चौधरीले पनि पोस्टमार्टम पछि थाहा हुने बताए । 

प्रहरीले मुचुल्का गरेर शव उठाएर पोस्टमार्टमका लागि बर्दिया अस्पताल लगेको डिभिजन वन कार्यालयका वरिष्ठ फरेस्टर कृष्ण घिमिरेले बताए ।

चितुवा गाउँ वरिपरि पटक पटक देखिँदा पनि सम्बन्धित निकायले कुनै वास्ता नगरेको स्थानीय छेदुलाल थारुले बताए । ‘अस्ति बंगुर बाँधेको खोर नजिक चितुवा समसाँझै बसेको थियो,’ उनले भने,‘हल्ला गरेपछि भागेको थियो ।’ यस्तै, गाउँको वरिपरि दिनहुँ देखिने चितुवाले कुकुर खाएर सिध्याएको स्थानीयले बताएका छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully