लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

श्रावण ३१, २०८२

रुपा गहतराज

The police opened fire to arrest the drug dealer

नेपालगन्ज — बाँकेको नेपालगन्जमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । 

भारत बहराईच जिल्ला रुपैडिहाका २० वर्षीय कार्तिक कुमारलाई गोली लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए । दायाँ खुट्टामा गोली लागेका उनको उपचार नेपालगन्जस्थित सन्जिवनी अस्पतालमा भइरहेको छ । 

प्रहरीले कुमारसँगै नेपालगन्ज–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी र भारतको रुपैडिहाका २० वर्षीय अजयकुमारलाई नियन्त्रणमा लिइएको छ  । 

नेपालगन्ज-४ बसपार्क नजिक लागुऔषधको कारोबार भइरहेको सूचनाअनुसार लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार छापा मार्दा नियन्त्रणमा लिन गोली प्रहार गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट १६५ ग्राम खैरो हेरोइन समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully