एसियन बुद्धले आईपीओ जारी गर्ने

आईपीओबाट जुटेको लगानीबाट होटलको सुविधा पाँचतारेस्तरमा स्तरोन्नति गर्ने, स्पोर्ट्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना रहेको व्यवस्थापनले जनाएको छ ।

श्रावण ३०, २०८२

सन्जु पौडेल

Asian Buddha to issue IPO

What you should know

तिलोत्तमा — लुम्बिनीको प्रवेशद्वार पर्यटकीय नगरी भैरहवा (सिद्धार्थनगर)मा विगत चार वर्षदेखि सञ्चालनमा रहेको एसियन होटल लिमिटेड (एसियन बुद्ध) ले आईपीओ जारी गर्ने भएको छ । होटलले आईपीओ जारी गर्नका लागि आवश्यक प्रक्रिया सुरु गरेको हो ।

एसियन होटलले व्यवसाय विस्तारमा सर्वसाधारणलाई समेत सहभागी गराउन साधारण सेयर (आईपीओ) निष्कासनबाट ३५ लाख कित्ता साधारण सेयर जारी गरी ३५ करोड रुपैयाँ जुटाउने तयारी गरेको छ । आईपीओबाट जुटेको लगानीबाट होटलको सुविधा पाँचतारेस्तरमा स्तरोन्नति गर्ने, स्पोर्ट्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना रहेको व्यवस्थापनले जनाएको छ । सेयर निष्कासन प्रक्रिया अघि बढाउन होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

औपचारिक कार्यक्रममा होटल एसियन लिमिटेडको तर्फबाट अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा होटलका डाइरेक्टर तिलकराम घिमिरे, पोमनारायण अधिकारी, सन्तोष चौधरी, सुशान्त त्रिपाठीलगायतको उपस्थिति थियो ।

उक्त होटलले हाल ६६ वटा सुविधासम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बैंक्वेट हल, बाहृय बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेसन वेडिङजस्ता अन्य सम्बन्धित सुविधाबाट व्यवसाय गर्दै आइरहेको जनाएको छ ।

सेयर निष्कासनपश्चात् अरु मुख्य सहरहरु पोखरा, काठमाडौं, चितवनमा सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष अधिकारीले जानकारी दिए । शाखा सेवाहरु थपेलगत्तै स्थानीयस्तरमा रोजगारी सिर्जना र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

होटलले प्रविधिमा आधारित सेवा व्यवस्थापन प्रणाली, हरित पर्यटनको अवधारणा तथा दीगो विकासको लक्ष्यहरुप्रति प्रतिबद्ध रहँदै व्यवसाय विस्तारमा अग्रसर रहने रणनीति अघि सारिएको जनाएको छ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully