रोल्पा हुँदै रुकुम जोड्ने सहिदमार्गमा पहिरोले समस्या थपिँदा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा पनि अवरोध भएको छ।
What you should know
रुकुम पूर्व — निर्माणाधीन सहिदमार्ग अन्तर्गत पुथाउत्तरगंगा गाउँपालिकाको वडा नं. ११ र १२ सिमानास्थित फल्मैमा पहिरो झर्दा पटक–पटक बाटो अवरुद्ध हुने गरेको छ ।
मर्मत गरेर केही समय चल्ने गरेको भए पनि ठूलो पानी पर्ने बित्तिकै फेरि पहिरो झर्ने भएकाले पुथाउत्तरगंगा प्रवेश मै चुनौती भएको छ ।
दाङको घोराहीबाट रोल्पा हुँदै रुकुम पूर्वको मैकोटसम्म जोड्ने कुल २ सय २० किलोमिटर लामो सहिदमार्गको निर्माण पूरा नहुँदा खासगरी रुकुम पूर्वका विभिन्न ठाउँमा वर्षायाममा आवतजातमा कठिनाई हुने गरेको छ ।
यो वर्ष पुथाउत्तरगंगा गाउँपालिका प्रवेश गर्ने स्थानमै पहिरो झरेकाले समस्या भैरहेको पालिका अध्यक्ष पुणिराज घर्तीले बताए । ‘हामीले पालिकाको डोजर नै त्यहिँ खडा गरेका छौं । पहिरो झर्छ फाल्यो अनि फेरी पानी पर्नेबित्तिकै समस्या दोहोरिन्छ,’ उनले भने, ‘यो बाटो खुलेपछि मात्रै पालिकाको केन्द्र तकसेरासम्म आवतजावत गर्न सकिन्छ । बाटो बन्द भए त मान्छे मात्रै होइन दैनिक उपभोग्य सामाग्रीको ढुवानीमा पनि चुनौती थपिन्छ ।’
फल्मैको पहिरो पन्छाएपछि यसभन्दा अगाडि बढेपछि भेटिने उत्तरगंगा नदीमा पुल नहुँदा अर्को सास्ती हुने गरेको पुथाउत्तरगंगाका स्थानीय सुधिर बुढाले बताए ।
‘कतै खोलाहरुमा पुल छैन, कतै पहिरो झरेको झर्यै गर्छ । पालिकासम्म पुग्ने भएकाले फल्मैको पहिरो त उनिहरुले पन्छाउँछन् तर त्यसभन्दा अघिको पहिरो पन्छाउन नसक्दा तकसेरादेखि अगाडि जान पनि मुस्किल छ,’ उनले थपे, ‘यो विषयमा पालिकालाई भन्दा पनि केन्द्र सरकारलाई हामीले गुनासो गर्नुपर्ने हुन्छ । किनकी यो बाटो सम्पन्न गर्ने जिम्मेवारी यसको हो । यसमा सरकारी प्रयास नपुग्दा हरेक वर्ष हामीलाई गाह्रो पर्छ ।’
