पार्टीमा पटकपटक एउटै व्यक्तिलाई मात्र अवसर दिइएको विरोधमा मत राख्दा आफूमाथि पूर्वाग्रह साँधिएको गुप्ताले पत्रकार सम्मेलनमा बताएका छन् ।
What you should know
भैरहवा — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निष्कासनमा परेका केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले पार्टीको कार्यशैलीप्रति असहमति जनाउँदा कारबाहीमा परेको बताएका छन् ।
एउटै व्यक्तिलाई पटकपटक मन्त्री बनाएर अवसरवादी चरित्र प्रदर्शन गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेपछि उनलाई पार्टीले निष्कासन गरेको थियो । गुप्ताले बिहीबार बिहान पत्रकार सम्मेलन गरेर नेताहरुको तानाशाही चरित्रविरुद्ध विद्रोह गरेको बताए ।
२०६२/०६३ को मधेश आन्दोलनदेखि तराई/मधेशका जनताको हितमा निष्ठापूर्वक लागेबापत सजायस्वरुप पार्टीले निरंकुश शैलीले आफूमाथि कारबाही गरेको उनको भनाइ छ । पार्टीमा पटकपटक एउटै व्यक्तिलाई मात्र अवसर दिइएको विरोधमा मत राख्दा आफूमाथि पूर्वाग्रह साँधिएको उनले बताए । ‘लोसपामा लामो समयदेखि भइरहेको विभेदको विरोध जनाएका हुँ,’ उनले भने, ‘पार्टीबाट लोकतान्त्रिक तरिकाले मन्त्री छनोट हुनुपर्ने र अन्य व्यक्तिलाई पनि अवसर दिनुपर्ने भनाइ राखेपछि ममाथि कारबाही गरियो ।’
रुपन्देही–४ बाट निर्वाचित पार्टीका प्रतिनिधिसभा सांसद सर्वेन्द्रनाथ शुक्ला र रुपन्देही–३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सन्तोष पाण्डेयले अहिले पनि ४० वर्षभन्दा पुरानो मधेशी समाज कायम रहेको ठानेर जनतामाथि निरंकुश र मनमौजी शासन गरिरहेको आरोप लगाए । ‘पाण्डेयजी ४ पटक प्रदेशमन्त्री भइसक्नुभयो, तर अहिलेसम्म जनताका मुद्दा प्रदेशसभामा पेस गरेको मलाई जानकारी छैन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘गाडीमा साइरन जडान गरेर बजारमा टुइँटुइँ पार्ने र बाटोमा देखेका व्यक्तिलाई नमस्कार गर्ने मात्र काम भयो ।’
संघीय सांसद शुक्लामा अझै पनि सामन्ती सोच रहेको उल्लेख गर्दै उनले मर्चवार र भैरहवाको समाज परिवर्तन भइसकेको बताए । आफूसित स्पष्टीकरण समेत नसोधेर एकैपटक कारबाही गरिनुले नेतृत्वको सामन्ती विचार प्रष्ट भएको उनको आरोप छ । ‘पार्टीको विधानमा लोकतन्त्र सीमित भो,’ उनले भने, ‘व्यवहारमा देखिएन ।’ पार्टीमा योगदान गर्नेमाथि कारबाही गर्ने परम्परा सुरुवात भएकाले विद्रोह आवश्यक परेको उनले बताए ।
