खडेरी र मल नपाउँदा उत्पादन घट्ने अवस्था आएकाले किसानलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।
परासी — पश्चिम नवलपरासीमा रासायनिक मलको अभाव भएको भन्दै सङ्घीय लोकतान्त्रिक मोर्चामा आबद्ध राजनीतिक दलले धर्नासहित विरोध प्रदर्शन गरेका छन् । सदरमुकाम परासीमा विरोध प्रदर्शन गर्दै मोर्चाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, जनता समाजवादी, जनता प्रगतिशील पार्टीलगायत मोर्चामा आबद्ध दलका नेता-कार्यकर्ताले सदरमुकाममा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बसेका थिए । खडेरी र मल नपाउँदा उत्पादन घट्ने अवस्था आएकाले किसानलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।
धान गोडेर मल हाल्ने समयमा किसानले पर्याप्त मल नपाएको र उपलब्ध भएको मल वितरणमा पनि विभेद भएको भन्दै सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाएको जनता समाजवादी नेपाल पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले बताए ।
जिल्लामा १८ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डीएपी आवश्यकता पर्ने भए पनि करिब आठ हजार मेट्रिक टन मल मात्र आपूर्ति हुँदै आएको कृषि सामग्री कम्पनी लिमिटेड परासीले जनाएको छ । मल अभावको कारण यस क्षेत्रका किसानले खेतीमा मलखाद हाल्न पाएका छैनन् ।
