भारतीय सरकारले बिनाशुल्क प्रदान गरेको एम्बुलेन्सको संरक्षण गर्न नसकेको स्थानीयको गुनासो छ ।
What you should know
काठमाडौँ — पूर्वमन्त्री एवं माओवादी उपमहासचिव वर्षमान पुनको पहलमा एक दशकअघि ल्याइएको एम्बुलेन्स अलपत्र अवस्थामा छ । पुनको गाउँ माडीचौरस्थित एक क्लबले सञ्चालन गर्न नसक्दा एम्बुलेन्स थन्किएको हो ।
पुनको पहलमा भारतीय सरकारले उक्त एम्बुलेन्स नि:शुल्क प्रदान गरेको थियो । भारतले गणतन्त्र दिवसका अवसरमा २०६९ मा प्रदान गरेको एम्बुलेन्स माडी जलजला युवा क्लबले सञ्चालन गर्दै आएको थियो । रा १ च १५२ नम्बरको एम्बुलेन्स हाल लिबाङस्थित जलजला बहुमुखी क्याम्पस नजिकै अलपत्र अवस्थामा रहेको छ । 'यो एम्बुलेन्स केही वर्षदेखि हाम्रो कोठा नजिकैको सडकमा बेवारिस छ,' युवा विशाल केसीले भने ।
स्रोतका अनुसार एम्बुलेन्सको अवस्था राम्रो हुँदासम्म क्लबले चलायो । अवस्था कमजोर भएपछि बेवारिस छाडेको हो । करिब १० वर्षसम्म जेनतेन एम्बुलेन्स चले पनि पछिल्लो केही समय क्लबले चालकलाई नै ठेक्कामा चलाउन जिम्मा दिएको थियो । हाल चालकलाई पनि घाटा हुने भएपछि एम्बुलेन्स बाटोमा नै बेवारिस छाडिएको हो ।
क्लबका अध्यक्ष ध्रुवचन्द्र पुनले क्लबले मर्मत गर्न नसक्ने अवस्था भएपछि एम्बुलेन्स चलाउन छाडिएको बताए ।
पूर्वमन्त्री पुनले पहिलोपटक एम्बुलेन्स ल्याउँदा गाउँभर चुनावी नारा बनाइएको थियो । उनी रोल्पाबाट निर्वाचित संघीय सांसद छन् । तर पछिल्लोपटक एम्बुलेन्स भाडामा चलाउँदा र ठेक्कामा चलाउँदा नेता पुन बेखबर रहेका छन् । सुरुको अवस्थामा क्लबले एम्बुलेन्स चलाउने बेला संकलित शुल्क क्लबमा जम्मा नगर्दा यस्तो अवस्था आएको हो । सार्वजनिक साधनको सदुपयोग गर्न नसक्दा भारतीय सरकारले बिनाशुल्क प्रदान गरेको एम्बुलेन्सको संरक्षण पनि गर्न न सकेको स्थानीयको गुनासो छ ।
जिल्लामा अन्य एम्बुलेन्सको सदुपयोग भएको अवस्था छैन । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एम्बुलेन्स सञ्चालन एवं संरक्षण समिति गठन गर्ने प्रावधान भए पनि उक्त समिति बेखबर छ । गाउँबाट जिल्ला अस्पतालमा बिरामी ल्याउन भने एम्बुलेन्स पाउन नसक्ने अवस्था छ । कतिपय एम्बुलेन्सले आफूखुसी भाडा लाउने गरेका छन् । सुरुमा जिल्लाभर करिब दुई दर्जन एम्बुलेन्स सञ्चालनमा रहे पनि हालको अवस्था राम्रो छैन ।
