मल माग्दै प्रदेश कार्यालयमा नवलपरासीका जनप्रतिनिधि

जिल्लाका पालिका प्रमुख, प्रदेश सांसद र वडा अध्यक्षहरूले धान गोडेर मल राख्ने समयमा मलको आपूर्ति हुन नसकेको भन्दै तत्काल जिल्लामा आवश्यक मल पठाउन माग गरेका हुन् ।

श्रावण २८, २०८२

नवीन पौडेल

People's representatives of Nawalparasi at the provincial office asking for fertilizer

परासी — पश्चिम नवलपरासीका जनप्रतिनिधिले जिल्लामा मलको आपूर्ति बढाउन माग गर्दै लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । 

जिल्लाका पालिका प्रमुख, प्रदेश सांसद र वडा अध्यक्षहरूले धान गोडेर मल राख्ने समयमा मलको आपूर्ति हुन नसकेको भन्दै तत्काल जिल्लामा आवश्यक मल पठाउन माग गरेका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर  जनप्रतिनिधिहरूले जिल्लाको यथार्थ मागभन्दा निकै कम रासायनिक मल आएको भन्दै मलको कोटा बढाउन ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

अहिले लुम्बिनी प्रदेशमा आउने रासायनिक मलको करिब ८ प्रतिशत मात्र पश्चिम नवलपरासीमा उपलब्ध हुने गरेको छ । सरकारले  धान र  गहुँ खेतीलाई मात्र गणना गरेर मलको कोटा निर्धारण गर्दा किसानले समयमा नै मल नपाउने र पाए पनि कम मात्रामा पाउने गरेका छन् । तराईको जिल्लामा धान, गहुँबाहेक मकै, दलहन तथा अन्य खेती पनि हुने भएकाले मल अभाव हुन गएको र कोटा बढाउन आग्रह गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । 

ध्यानाकर्षण पत्र बुझेपछि मुख्यमन्त्री आचार्यले खेतीयोग्य जमिनको यकिन गरेर वैज्ञानिक आधारमा मल वितरण गर्न प्रदेशको कृषि मन्त्रालयलाई निर्देशन दिएको र तत्कालका लागि मल अभावलाई समाधान गर्न ३ सय १५ मेट्रिक टन युरिया मल थप निकासा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जिल्लामा १५ हजार मेट्रिक टन रासायनिक मलको माग भए पनि ८ हजार मेट्रिक टन मात्र आपूर्ति हुँदै आएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully