सञ्चार संस्थाहरूले उपाध्यायले पत्रकारमाथि लगाएको आरोपको कडा विरोध गर्दै छानबिन र उचित कारबाहीको माग गरेका छन्।
What you should know
तिलोत्तमा — रूपन्देही–३ मा कार्तिक १७ मा तोकिएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारको प्रारम्भिक सूचीमा परेका पार्थिवेन्द्र उपाध्यायले जिल्लामा कार्यरत पत्रकारलाई नगदबिना समाचार नलेख्ने गरेको भन्दै गम्भीर आक्षेप लगाएपछि रूपन्देहीमा क्रियाशील सञ्चारसंस्थाले बुधबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
उपनिर्वाचनमा उम्मेदवार आकांक्षी सिद्धार्थनगर नगरपालिका–७ का उपाध्यायले केही दिनअघि पार्टीको केन्द्रीय कार्यालयमा आफ्ना भनाइ राख्ने क्रममा रूपन्देहीमा कार्यरत पत्रकारले पैसाबिना समाचार नलेख्ने बताएका थिए । समाचारका लागि कम्तीमा ‘५ हजार रुपैयाँ माग्ने’ गरेको आरोप पनि उनले लगाएका थिए ।
‘पैसा दिएपछि लेखेको समाचार पढ्दा हाँसो उठ्छ,’ सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा उनले भनेका छन्, ‘स्थानीय सञ्चारमाध्यम आवश्यक छैनन् ।’ सञ्चारमाध्यम भन्दा पार्टीका गतिविधि सार्वजनिक गर्न सामाजिक सञ्जाल प्रभावकारी हुने उनले बताएका थिए । भिडियोमा उनले जिल्लाका पत्रकारलाई होच्याउने गरी विभिन्न आरोप लगाएका छन् । यहाँ कार्यरत पत्रकार कामै नलाग्ने रहेको पनि उनको अभिव्यक्ति थियो ।
सञ्चारसम्बन्ध विभिन्न १० वटा संस्थाका प्रतिनिधिले उपाध्यायले सञ्चारमाध्यमको विश्वसनीयता प्रभावित तुल्याउने उद्देश्यले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले सबै पत्रकार ५ हजारमा बिक्ने गरेको जस्तो गम्भीर आक्षेप लगाएर अमर्यादित अभिव्यक्ति दिएर समाजमा पत्रकारिताप्रति भ्रम उत्पन्न गराएकाले उपाध्यायमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकार टोकराज पाण्डेलाई बुझाइएको ध्यानाकर्षण पत्रमा पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, महासंघ रूपन्देही शाखाका कोषाध्यक्ष नरेश केसी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रमेश पोखरेल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, प्रेस युनियन जिल्ला अध्यक्ष कविन्द्र नेपाल, प्रेस चौतारी रूपन्देही अध्यक्ष भगवती पाण्डे, संघीय मामिला पत्रकार समाज लुम्बिनीका सचिव दीपक घिमिरे, मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ता र मधेशी पत्रकार समाजका जिल्ला कोषाध्यक्ष रवीन्द्र गुप्ताले हस्ताक्षर गरेका छन् ।
त्यसै गरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र रूपन्देही शाखाले पनि श्रमजीवी पत्रकार र पत्रकारिता पेसामाथि निराधार आरोप लगाउँदै उपाध्ययायले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘सिंगो मुलुकका पत्रकार र सञ्चार जगत्माथि लगाएको आरोप अत्यन्त खेदजनक, अर्मादित र आपत्तिजनक रहेको छ,’ रुपन्देही शाखाका सचिव सीपी खनालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पेसागत रूपमा निराधार आरोप लगाउने उपाध्यायलाई आफ्नो कमी-कमजोरीप्रति सार्वजनिक रूपमा आत्मालोचित हुँदै निराधार आरोप फिर्ता लिनका लागि महासंघ आग्रह गर्दछ ।’
