२२ लाख नगदसहित ठूलो मात्रामा गरगहना नियन्त्रणमा

साउन २७ को साँझ घरनजिकैबाट पक्राउ परेका लोनियाको कोठाबाट नगद, चाँदीका गहना, मोटरसाइकल र विभिन्न सरसामान फेला परेको प्रहरीले जनाएको छ।

श्रावण २८, २०८२

रुपा गहतराज

22 lakh cash along with a large amount of jewelery seized

What you should know

नेपालगन्ज — बाँके प्रहरीले लागू औषधसहित २२ लाखभन्दा बढी नगद, दुई थान मोटरसाइकल र ठूलो मात्रामा गरगहना नियन्त्रणमा लिएको छ ।

नेपालगन्ज–१४ का उधीपुरवाका २८ वर्षीय रमेश लोनियाका साथबाट १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर धूलोसहित घर नजिकबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्दा उनको कोठाबाट नगदसहित अन्य सरसामान बरामद गर्न सफल भएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक दप्पक पातलिलेका अनुसार बाँके प्रहरीले लोनियालाई २७ गते मंगलबार साँझ करिब ८ बजे उनकै घरनजिकबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले लोनिया बस्ने घर कोठामा समेत खानतलासी गर्दा भारतीय नम्बर भएको पल्सर मोटरसाइकल थान एक, यामाहा आर १५ मोटरसाइकल एक, नेपाली रुपैयाँ १९ लाख ८७ हजार ६ सय ७५ र भारतीय रुपैयाँ १ लाख ३५ हजार १ सय ५० गरी जम्मा २२ लाख ३ हजार ९ सय १५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।

यसैगरी प्रहरीले लोनियाको कोठाबाट चाँदीका खुट्टामा लगाउने कँडा दुई थान, बाला दुई धान, औंठी ३३ धान, सिक्का २१ थान, कानमा लगाउने रिङ ४ थान, कानमा लगाउने झुम्का ४ थान बरामद गरेको छ । 

यसैगरी प्रहरीले जन्तर एक थान, ब्रासलेट पाँच थान, पाएल १४ थान, माला पाँच थान, ठूलो माला तीन थान, नाकमा लगाउने नथी एक थान, हातमा लगाउने ब्रास्लेट दुई थान, पायल ठूलो दुई थान, टुक्रा सानाठूला ११ थान बरामद गरेको छ ।

यसैगरी लोनियाको कोठाबाट प्रहरीले खुकुरी, क्यामरा र विभिन्न कम्पनीका मोबाइल फोन पनि बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully