कपिलवस्तु संग्रहालय हेर्ने विदेशी पर्यटक बढे

गत आव ०८१/८२ मा २ हजार ७ सय ५८ विदेशी पर्यटकले संग्रहालय अवलोकन गरे, जबकि अघिल्लो आवमा १ हजार १ सय ३७ थिए।

श्रावण २७, २०८२

मनोज पौडेल

Foreign tourists visiting Kapilvastu Museum increased

What you should know

कपिलवस्तु — पुरातात्विक र ऐतिहासिक सामग्री संगृहीत तिलौराकोटस्थित कपिलवस्तु संग्रहालय अवलोकन गर्ने विदेशी पर्यटक बढेका छन् । बुद्धस्थल तिलौराकोट नजिक रहेको संग्रहालयमा सबैभन्दा धेरै थाइल्यान्ड, श्रीलंका र म्यानमारका पर्यटक आएका छन् ।

अघिल्लो आवभन्दा गत आवमा संग्रहालय अवलोकन गर्ने विदेशी पर्यटक २ गुणाले बढेका हुन् । स्वदेशी भने घटेका छन् ।

गत आव ०८१/८२ मा सार्क मुलुकका १ हजार ९ सय ९७ र तेस्रो मुलुकका ७ सय ६१ गरी २ हजार ७ सय ५८ विदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका थिए । अघिल्लो आव ०८०/८१ सार्क मुलुकका ६ सय १३ र तेस्रो मुलुकका ५ सय २४ गरी १ हजार १ सय ३७ विदेशी पर्यटकले संग्रहालय आवलोकन गरेका थिए । त्यस्तै ०८१/८२ मा नेपाली विद्यार्थी २ हजार ६ सय ४२ र स्वदेशी ३ हजार ९ सय ३४ जनाले अवलोकन गरेका थिए भने ०८०/८१ मा नेपाली विद्यार्थी ३ हजार ५ सय ७८ र स्वदेशी ३ हजार ९ सय ४२ जनाले अवलोकन गरेका थिए ।

अघिल्लो आवभन्दा गत आवमा दुई गुणा बढी विदेशी पर्यटक बढ्नुले पर्यटन क्षेत्र चलायमान देखिएको संग्रहालयका गाइड शंकर धितालले बताए । तर, नेपाली पर्यटक घट्नुमा बुटवल–नारायणघाट सडक खण्ड लथालिंग हुनु मुख्य कारण रहेको उनले बताए ।

‘यो बाटो छिटो बनाउनु पर्छ । त्यसपछि स्वदेशी पर्यटक बढ्छन्,’ उनले भने, ‘अब विदेशी र स्वदेशी पर्यटकको बसाइ लम्ब्याउने योजना र कार्यक्रम पनि जरुरी भइसकेको छ ।’  तिलौराकोट पुग्ने २० प्रतिशत पर्यटक संग्रहालय जाँदैनन् । प्रचारप्रसारको अभावमा संग्रहालयमा पर्यटक जान नसकेको स्थानीयको गुनासो छ ।

भगवान् गौतम बुद्ध, उनका पिता र अन्य ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्त्वका बस्तु यहाँ संगृहीत छन् । संग्रहालयमा माटाका भाँडाकुँडा, पालिस गरिएका ग्रे बेयर, एबीपी, रेड बेयर, पंचमार्क चाँदीका सिक्का र विभिन्न आगनीय पत्थर संगृहीत छन् ।

‘संग्रहालय भवन जीर्ण हुँदा समस्या भइरहेको थियो,’ संग्रहालयका प्रमुख शान्ति शेर्माले भनिन्, ‘नयाँ भवन तयार भएपछि व्यवस्थित भएर पर्यटक बढेका छन् ।’ पुरातत्त्व विभागले रामघाटमा नयाँ आधुनिक संग्रहालय भवन ४ करोड ३२ लाख रुपैयाँमा निर्माण गरेको हो ।

संग्रहालयमा विष्णु, शिव, पार्वती, सूर्य वराहाका विभिन्न देव मूर्तिहरू, बाह्मी लिपियुक्त विभिन्न आकृतिका मानव मूर्ती लगायत मुद्राशील, गहना र हातहतिहयार रहेका छन् । राजा शुद्धोदनको राजप्रासाद तथा बुद्धले २९ वर्षको युवा अवस्था बिताएको तिलौराकोट, धमनिहवा स्तुप, निग्रोधाराम (कुदान), अरौराकोट र सिसहनिया लगायतका ठाउँमा उत्खनन गर्दा पाइएका पुरातात्विक बस्तु संग्रहालयमा संगृहीत छन् । यहाँ विशेष गरी बौद्ध धर्म मान्ने मुलुकबाट विदेशी पर्यटक आउने गर्दछन् । 

बुद्ध धर्मावलम्बीहरू यहाँ पाइला नटेकेसम्म पुण्य प्राप्त नहुने हुनाले पवित्र स्थल मानेर यहाँ आउने वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले बताए । संग्रहालय छेउको मुख्य दरबार भग्नावशेषमा आई सूत्रपाठ, पूर्वी र पश्चिमी गेटमा भगवान् गौतम बुद्धको वाल्यकालको जीवन लीला पाठ गरेपछि मात्र शान्ति प्राप्त भई आत्मसन्तुष्टि हुने रोयल थाई विहार लुम्बिनीका प्रमुख भिक्षु फ्रा राजबोधीविदेश वजिराशुद्धिले बताए ।

बुद्धको जीवनसँग सम्बन्धित धेरै पुरातात्विक स्थल यहाँ रहेकाले विदेशी पर्यटक यहाँ बढी आउने पुरातत्वविद‍्हरू बताउँछन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully