धान गोड्ने बेला किसानलाई मलको आवश्यकता छ तर सहकारीले मल नलैजाँदा किसानले रित्तै भएका छन् ।
What you should know
परासी — किसानले मल नपाइरहेको समयमा कृषि सामग्री कम्पनी लिमिटेड परासीमा आएको मल गोदाममै थन्किएको छ । सहकारीमार्फत मल वितरण गर्दै आएकामा सहकारीले समयमा नै मल नलगेपछि गोदाममा मल थन्किएको हो ।
धान गोड्ने बेला भएकाले किसानलाई भने मलको आवश्यकता छ । तर, सहकारीले मल नलैजाँदा किसानले मल पाएका छैनन् । भारतीय सीमासँग जोडिएका पालिकाका केही किसानले भारतीय बजार गएर मल ल्याए पनि अधिकांशले मल पाएका छैनन् ।
जिल्लामा ७७ वटा सहकारीमार्फत मल वितरण हुँदै आएको छ । तर, अहिलेसम्म ३४ वटा सहकारीले मात्र मल लगेका छन् । साउन १९ गते कृषि सामग्री लिमिटेडमा आएको मध्ये १ सय ३६ मेट्रिक टन गोदाममा रहेको छ ।
कृषि सामग्री कम्पनीका शाखा परासीका प्रबन्धक ताराप्रसाद खनालका अनुसार पालिकाले सिफारिस गरेअनुसार आफूहरूले मल वितरण गर्दै आएको बताए । मल आएको एक साता मात्र भएकाले केही सहकारीले मल लगेको र अन्यले पनि प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।
सोमबारसम्म जिल्लाको सुस्ता गाउँपालिकाको १० वटा सहकारीमध्ये एउटाले मात्र मल वितरणका लागि लगेको छ । सुनवल नगरपालिकाका २० मध्ये ११ वटा, बर्दघाट नगरपालिकाका ८ मध्य ६, सरावल गाउँपालिकाका १३ मध्य ८, पाल्हिनन्दन गाउँपालिकाका ४ मध्य २, प्रतापपुर गाउँपालिकाका ८ मध्य २ र रामग्राम नगरपालिकाका १६ मध्ये ४ वटा सहकारीले मात्र मल लगेका छन् ।
समयमा मल उपलब्ध नहुने र मल आए पनि पर्याप्त नहुँदा किसान समस्यामा परेको सुस्ता गाउँपालिकाका उपाध्यक्ष गीता चौधरीले बताइन् । उनले पालिकाभित्रका सबै सहकारीले एकदुई दिनभित्र नै मल ल्याएर वितरण गर्ने भन्दै आफ्नो पालिकालाई आवश्यक मल कृषि सामग्री कम्पनी लिमिटेडले उपलब्ध गराउनुपर्ने बताइन् । समयमा मल उपलब्ध नहुने र आए पनि पर्याप्त मल नपाउँदा सहकारीले मल वितरण गर्न आनाकानी गर्दै आएका छन् ।
